खोटाङको विद्यालय निर्माणमा करोडौं भ्रष्टाचार : १० जना विरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौं, असार २६ —खोटाङ जिल्ला, दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ स्थित श्री जनता उच्च माध्यमिक विद्यालयको भवन निर्माणमा अनियमितता तथा भ्रष्टाचार भएको आरोपमा १० जना विरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

भ्रष्टाचार निवारण आयोगको अनुसन्धान अनुसार विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत २०७०/७१ र २०७१/७२ मा जिल्ला शिक्षा कार्यालय, खोटाङमार्फत प्राप्त २४ लाख रुपैयाँ अनुदान कार्य सम्पन्न नहुँदै निकासा गरिएको थियो। त्यसैगरी, पुस्तकालय व्यवस्थापनको लागि छुट्याइएको ६ लाख ५० हजार रुपैयाँ समेत भवन निर्माणमा खर्च गरिएको पाइएको छ।

प्राविधिक टोलीको स्थलगत निरीक्षण तथा प्रतिवेदन अनुसार निर्माण भएको चारकोठे RCC भवन गुणस्तरहीन, डिजाइनअनुसार नभएको र विद्यार्थी राख्नसमेत अयोग्य देखिएको छ। रिपोर्ट अनुसार भुइँतलामा PCC नभएको, पिलरबाट गारो छुट्टिएको, बिम चर्किएको र स्ल्याबको मोटाई न्यून रहेको उल्लेख छ।

प्राप्त प्रमाण र प्रतिवेदनका आधारमा तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराई, लेखा अधिकृत भुवन प्रसाद आचार्य, लेखापाल सुरेश कुमार श्रेष्ठ, सव-इन्जिनियर शिवराज राई, प्रधानाध्यापक हेम्वर बस्नेत, व्यवस्थापन समिति अध्यक्ष दिलिप कुमार राई र चर्च बहादुर विश्वकर्मा, निर्माणकर्ता बबेन्द्र राईसहित १० जना विरुद्ध ३० लाख ५० हजार रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरिएको हो।

उनीहरूलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ तथा दफा २२ अनुसार कैद, जरिवाना र बिगो असुल गर्न मागदाबी गरिएको छ। आयोगका अनुसार कार्य सम्पादन नगरी रकम भुक्तानी लिइएको, झुटा बिल भरपाई गरिएको र सार्वजनिक निकायलाई हानि पुर्‍याइएको पुष्टि भएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP