फोर्स गाडी खरिदमा व्यवसायी ठगिए: इन्जिन सिजदेखि गुड्दा गुड्दै टायर फुत्किनेसम्म

काठमाडौं साउन २३ — दिक्तेल रुपाकोट हलेसि दर्शन यातायात प्रालिका अध्यक्ष हरि बहादुर राई र महासचिव देवान राईले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फोर्स मोटरका गाडी खरिदबाट व्यवसायीहरू ठगिएको गम्भीर आरोप सार्वजनिक गरेका छन्।

आयम इन्टरकन्टिनेन्टल प्रालिद्वारा बिक्री गरिएका ‘फोर ह्विल गामा’, ‘क्रुजर जिप’ र ‘टु ह्विल जिप’ मोडलका गाडीहरूमा मर्सिडिज बेन्जको इन्जिन, गियरबक्स र क्राउनमा तीन लाख किलोमिटर वारेन्टी रहेको दाबी गरिएको थियो। तर खरिदको एक महिनामै इन्जिन सिज हुने, एकै वर्षमै दुई पटकसम्म इन्जिन बिग्रिने जस्ता गम्भीर समस्या देखिएको पीडितहरूको आरोप छ।

त्यसैगरी, गुडिरहेको अवस्थामा टायर फुत्किनेदेखि सेन्टर र रड बारम्बार फुस्किने, कमजोर पार्टपुर्जा र अत्यधिक महँगो मूल्यले व्यवसायीहरूलाई थप जोखिममा पारेको अध्यक्ष राईले बताए।

विक्रेता कम्पनीले सुरुमा अनेकौँ लोभ–प्रलोभन देखाउँदै गाडी बिक्री गर्ने गरेको, तर समस्या राख्दा दोहोरो कुरा गर्दै आश्वासन मात्र दिने र कुनै ठोस समाधान नगर्ने गरेको व्यवसायीहरूको आरोप छ।

६ वर्षअघि खरिद गरिएका गाडी ग्यारेजमै थन्किँदा बैंक किस्ता र ब्याज तिर्न नसक्ने अवस्था आएको महासचिव राईको गुनासो छ। “घरखेत बेचेर पनि ब्याज तिर्नुपर्ने अवस्था आएको छ,” उनले भने।

पीडितहरूले विक्रेता कम्पनीले वारेन्टी र सम्झौता उल्लङ्घन गरेको भन्दै तत्काल क्षतिपूर्ति र यात्रुको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

आधिकारिक विक्रेता आयम इन्टरकन्टिनेन्टलले भने अहिलेसम्म कुनै ठोस कदम नचालेको व्यवसायीहरूको आरोप छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

कोशीमा सिट गणितको लडाइँ तीव्र: एमाले बहुमतको दाबीमा, कांग्रेस आन्तरिक चिन्तामा
2 घण्टा अघि

विराटनगर१५ माघ - २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये नेकपा एम ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP