काठमाडौं, साउन २४ — शनिबार बिहान काठमाडौंको आकाश अझै हल्का बादलले ढाकिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने असाधारण उत्साह र प्रतीक्षाको माहोल थियो। स्वागतका फुलमाला, टिका र हर्षोल्लास बोकेर उभिएका मानिसहरूको भीडबीच अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाको उपस्थितिले वातावरण एक्कासि उज्यालो बनाइदियो।
यो साधारण आगमन थिएन। उनी पशुपति क्षेत्रमा जारी ५२ दिनको श्री मनोकामना तथा संकट मोचन धार्मिक महोत्सवको विशेष अध्यायका लागि आएकी थिइन्। ११ दिनसम्म उनी निरन्तर श्रीमद्भागवत कथा बाचन गर्दै श्रद्धालुहरूको आस्था र भक्ति ऊर्जा जगाउनेछिन्।
मानव सेवा फाउन्डेसन नेपालको आयोजनामा भइरहेको यस भव्य कार्यक्रमका अध्यक्ष तथा संकल्पकर्ता बालयोगेश्वर विजय कृष्ण मुर्ति स्वयं विमानस्थल पुगेका थिए। उनको अनुहारमा गर्व र खुशी मिसिएको देखिन्थ्यो।
"जीवनमा धेरै क्षण देखेँ, तर आज देवी प्रतिभालाई मंचमा पाउँदा पाएको खुशी जीवनकै अमूल्य क्षण हो। आत्मिक ऊर्जा फैलिने अवसर हो," उनले भावुक हुँदै भने।
नेपालको माटो छोएपछि देवी प्रतिभाले पहिलो वाक्यमा नै “नेपाली आमाको जय होस्” भन्दै शिरले ढोगिन। त्यसपछि उनी सीधै हंसमंडप पुगिन्, जहाँ बिहानैदेखि भक्तजनको भीड लागिसकेको थियो। आयोजकले विशेष व्यवस्था मिलाएका थिए—भीडमा पनि सहज बस्न मिल्ने ठाउँ, खानेपानी, स्वास्थ्य परीक्षण, शान्ति–सुरक्षा, र प्रसाद वितरण। मानिसहरू कथा सुन्न मात्र होइन, सेवा गर्न र अमूल्य दानमार्फत पुण्य कमाउन पनि आएका थिए।
नेपाल मात्र होइन, भारत र तेस्रो मुलुकबाट समेत भक्तजनको आगमन निरन्तर भइरहेको छ। कतिपय वृद्धवृद्धा, टेकेका लौरोसहित पनि कथा सुन्न बिहानै लाइनमा उभिएका देखिन्थे। युवाहरूको समुह पनि त्यति नै सक्रिय—कोही प्रसाद वितरण गर्दै, कोही भजन गाइरहेका, कोही सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरिरहेका।
५२ दिनसम्म चल्ने यस धार्मिक महोत्सवमा मामा–घर र छोरी–घर आश्रम भवन स्थायी निर्माणको लागि पुन्य कर्म हुँदैछ। यस अन्तर्गत पशुपतिमा पार्किङ क्षेत्र, हंसमंडप, र रुद्रगणेश्वर क्षेत्रमा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन भइरहेको छ। आजै कालिबाबाको दश महाविद्या कार्यक्रम पनि सम्पन्न भएको छ।
देवी प्रतिभा केवल कथा वाचिका मात्र होइनन्, उनी आस्था र संस्कृतिको दूतका रूपमा चिनिन्छिन्। उनका शब्दहरूमा भाव, शुद्ध उच्चारणमा संस्कृत श्लोक, र हरेक कथामा जीवन दर्शन मिसिएको हुन्छ। उनका कथा सुन्दा मानिसहरू आँखा रसाउने, हाँस्ने र आत्मविश्लेषण गर्ने गर्छन्।
भक्तजन, आयोजक र कथा प्रेमीहरूका लागि आगामी ११ दिन एक अद्भुत यात्रा हुनेछ। धार्मिक वातावरणमा डुबेर कथा सुन्ने, सेवा गर्ने, र आत्मिक शान्ति पाउने अवसर दुर्लभ मानिन्छ।
काठमाडौं भदौ २२- नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी जनताको बहुदलीय जनवाद (जबज)को मार्ग निर ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!