सामाजिक सञ्जालमा फेरि चर्चामा भैंसी : झोलुङ्गे पुलदेखि सुरुङमार्गसम्म, आजको दृश्यले झनै भावुक बनायो

सामाजिक सञ्जालमा फेरि चर्चामा भैंसी : झोलुङ्गे पुलदेखि सुरुङमार्गसम्म, आजको दृश्यले झनै भावुक बनायो

पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा भैंसीसँग सम्बन्धित विभिन्न दृश्यहरू निकै चर्चामा छन्। कहिले भैंसीको ठूलो झुन्ड झोलुङ्गे पुलमा देखिएको दृश्य भाइरल बन्यो भने, कहिले सुरुङमार्गभित्रै भैंसीको लस्कर हिँडिरहेको दृश्यले धेरैको ध्यान तान्यो।

झोलुङ्गे पुलमा भैंसीको झुन्ड देखिएको भिडियोमा पुलको क्षमतामाथि समेत प्रश्न उठाउँदै सामाजिक सञ्जाल प्रयोगकर्ताले विभिन्न प्रतिक्रिया दिएका थिए। त्यसपछि सुरुङमार्गभित्र दर्जनौँ भैंसी एकैपटक हिँडिरहेको अर्को दृश्य सार्वजनिक भयो। भैंसीको लस्करका कारण सवारी आवागमन प्रभावित भएको दृश्यले पनि सामाजिक सञ्जालमा चर्चा पायो। तर आज सार्वजनिक भएको अर्को दृश्य भने अघिल्ला घटनाभन्दा फरक र भावुक बनाउने खालको देखिन्छ। भिडियोमा भैंसीहरू निकै दयनीय तथा पीडादायी अवस्थामा देखिएका छन्।

२४ घण्टासम्म ट्रकमै उभिएका राँगा-भैंसी : न पानी, न आराम, पीडामाथि पीडा
कल्पना गर्नुहोस्-२४ घण्टादेखि एउटै ट्रकभित्र थुनिएका राँगा-भैंसी। न पर्याप्त घाँस, न पानी, न आराम। त्यसमाथि खाल्डाखुल्डी सडकको कष्टकर यात्रा।
तराईबाट काठमाडौं ल्याइँदै गरेका कतिपय पशुको अवस्था यति पीडादायी हुने गरेको स्रोतमा उल्लेख छ कि उनीहरूलाई ट्रकभित्र बस्नसमेत दिइँदैन। धेरै पशु एउटै ट्रकमा कोचेर राख्दा ठाउँ अभाव हुन्छ। बस्न खोज्दा लट्ठीले हिर्काउने वा घोच्ने गरिएको आरोपसमेत छ। कतिपय अवस्थामा नाक, पुच्छर वा खुट्टामा डोरी बाँधेर उभ्याइने गरेको बताइन्छ।

व्यापारीका लागि एउटै ट्रकमा धेरै पशु अटाउनु आर्थिक हिसाबले फाइदाको विषय हुन सक्छ। तर त्यसको मूल्य भने ती निर्दोष पशुले आफ्नो पीडा र कष्टबाट चुकाइरहेका हुन्छन्। झन् पीडादायी दृश्य त्यतिबेला देखिन्छ, जब घाइते पशुलाई समेत आराम गर्ने मौका दिइँदैन। चार खुट्टाले टेक्न नसक्ने अवस्थामा पुगेको एउटा भैंसीलाई रातको समयमा ट्रकबाट निकालेर पुच्छर र सिङ समात्दै घिसारिएको र फेरि अर्को भ्यानमा जबर्जस्ती हालिएको दृश्यले पशुप्रतिको व्यवहारमाथि गम्भीर प्रश्न उठाउँछ।

तराईदेखि काठमाडौंसम्मको यात्रा कतिपय अवस्थामा दुई-तीन दिनसम्म लम्बिने गरेको बताइन्छ। लामो यात्राका क्रममा पर्याप्त पानी, घाँस र आराम नपाउँदा पशुहरू थप कमजोर र घाइते हुने जोखिम हुन्छ।
नेपालमा पशु ढुवानीका लागि मापदण्ड र कानुनी व्यवस्था नभएको होइन। पशुलाई अस्वाभाविक रूपमा बाँध्न नहुने, पर्याप्त ठाउँ दिनुपर्ने, घाँस–पानीको व्यवस्था गर्नुपर्ने तथा आवश्यक समयमा आराम गराउनुपर्ने प्रावधान छन्। तर कागजमा रहेका यी व्यवस्था र सडकमा देखिने वास्तविकताबीच ठूलो दूरी देखिन्छ। कानुन छ, मापदण्ड छ, क्वारेन्टाइन र अनुगमन गर्ने निकाय पनि छन्। त्यसो भए वर्षौंदेखि पशु ढुवानीका क्रममा देखिने यस्ता पीडादायी दृश्य किन दोहोरिइरहेका छन्? मासुका लागि पशु ढुवानी गरिन्छ भन्दैमा जीवित प्राणीलाई अनावश्यक यातना दिने अधिकार कसैलाई छ?
मारेर खानु एउटा विषय हो, तर अन्तिम यात्रासम्म पनि अनावश्यक पीडा दिनु अर्को विषय हो। कम्तीमा उनीहरूको अन्तिम यात्रालाई यातनाको यात्रा नबनाउने जिम्मेवारी मानिसकै हो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP