नेपाल एयरलाइन्समा दक्ष जनशक्तिको संकट, ५ वाइडबडी क्याप्टेनले दिए राजीनामा

नेपाल एयरलाइन्समा दक्ष जनशक्तिको संकट, ५ वाइडबडी क्याप्टेनले दिए राजीनामा

काठमाडौ ।चर्को ऋणभार र जहाजको प्राविधिक समस्यासँग जुधिरहेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम थप जनशक्ति संकटमा परेको छ।

लामो दूरीका अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने वाइडबडी जहाजका पाँच जना अनुभवी क्याप्टेनले एकैपटक राजीनामा दिएपछि निगमको उडान व्यवस्थापनमा दबाब बढेको हो। निगमसँग ‘मकालु’ र ‘अन्नपूर्ण’ नामका दुईवटा वाइडबडी जहाज छन्।

विदेशी वायुसेवा कम्पनीले दिने आकर्षक पारिश्रमिक र सेवा–सुविधाका कारण दक्ष जनशक्ति निगमबाट बाहिरिने क्रम बढेको निगमका अधिकारीहरू बताउँछन्।

निगमका निमित्त कार्यकारी प्रमुख जनकराज कालाखेतीका अनुसार क्याप्टेनहरूको सामूहिक राजीनामाले निगमलाई दोहोरो दबाबमा पारेको छ। राजीनामा स्वीकृत गर्दा तत्काल विकल्पको जनशक्ति अभाव हुने र उनीहरूलाई काममै टिकाइराख्न थप सेवा–सुविधा दिनुपर्ने अवस्था रहेको उनको भनाइ छ।

यता, निगमको वित्तीय अवस्था पनि कमजोर बन्दै गएको छ। निगममाथि ५५ अर्ब रुपैयाँभन्दा बढी ऋण रहेको छ। कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणमा ९ दशमलव ५ देखि १० दशमलव ५ प्रतिशतसम्म ब्याज तिर्नुपरेको निगमको भनाइ छ। कोभिड महामारीका क्रममा ब्याज पुँजीकरण हुँदा मात्रै निगममाथि ७ अर्ब रुपैयाँभन्दा बढी थप वित्तीय भार परेको थियो।

जनशक्ति अभावसँगै जहाजको मर्मतसम्भार समस्या पनि निगमका लागि चुनौती बनेको छ। वाइडबडी जहाजका चारवटा रोल्स–रोयस इन्जिनको अनिवार्य ओभरहलका लागि मात्रै करिब ८ अर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको छ।
यसअघि प्राविधिक समस्याका कारण जहाज ग्राउन्डेड हुँदा र जापान उडान प्रभावित हुँदा निगमले करिब २४ करोड रुपैयाँ बराबरको राजस्व गुमाएको थियो।

नेपालको करिब डेढ खर्ब रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय हवाई बजारमा विदेशी वायुसेवा कम्पनीको हिस्सा ८५ प्रतिशतभन्दा बढी रहेको बताइन्छ। निगमको हिस्सा भने करिब १५ प्रतिशतमा सीमित छ।

यस्तो अवस्थामा अनुभवी वाइडबडी क्याप्टेनहरूको सामूहिक राजीनामा, बढ्दो ऋणभार र जहाज मर्मतको चापले नेपाल एयरलाइन्सको नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनमै थप चुनौती देखिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

स्याउका कार्टुनमा घुस ओसारपसारको आरोप, राणासँग जोडिएका व्यक्तिको घरमा छापा
11 घण्टा अगाडि

प्रधानमन्त्री कार्यालयमा परेको उजुरीले अहिले एउटा रोचक विषय बाहिर ल्याएको छ। उजुरीमा स्याउका बक्सा त ...

छुटाउनुभयो कि ?

TOP