चर्चामा
चितवन । चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास संक्रमणको दर बढेको छ। आर्थिक वर्ष २०८१/८२ को तुलनामा आर्थिक वर्ष २०८२/८३ मा यस्तो समस्या देखिने बालबालिकाको संख्या बढेको हो।
जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक चन्द्रबहादुर हमालका अनुसार आर्थिक वर्ष २०८२/८३ मा प्रतिहजार पाँच वर्षमुनिका बालबालिकामध्ये ४३१ जनामा शीघ्र श्वासप्रश्वास संक्रमण देखिएको छ। अघिल्लो आर्थिक वर्षमा यो दर ३९६ जना प्रतिहजार थियो।
हमालका अनुसार आर्थिक अवस्था कमजोर भएका तथा ग्रामीण क्षेत्रका बालबालिकामा संक्रमणको समस्या बढी देखिएको छ। विशेषगरी इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र माडी नगरपालिकाका बालबालिकामा संक्रमणदर बढ्दो रहेको उनले बताए। जिल्लामा हाल पाँच वर्षमुनिका बालबालिकाको संख्या ४५ हजार ६०८ रहेको छ।
उनका अनुसार एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकामा प्रतिमिनेट ४० पटकभन्दा बढी, दुई महिनादेखि एक वर्षसम्म ५० पटकभन्दा बढी र दुई महिनाभन्दा कम उमेरका बालबालिकामा ६० पटकभन्दा बढी श्वासप्रश्वास भएमा शीघ्र श्वासप्रश्वासको समस्या मानिन्छ।
रुघाखोकी, छिटो-छिटो श्वास फेर्नु, निमोनिया, कोखा हानिनेजस्तो हुनु तथा खाना खान मन नगर्नुलगायतका लक्षण देखिएमा बालबालिकालाई तत्काल स्वास्थ्य संस्थामा लगेर परीक्षण गराउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन्।
भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा. किरण देवकोटाले छिटो श्वासप्रश्वास आफैंमा रोग नभए पनि विभिन्न रोगको लक्षण हुन सक्ने बताए। निमोनिया, श्वासनलीसम्बन्धी समस्या तथा मौसमी फ्लुका कारण बालबालिकामा यस्तो समस्या देखिन सक्ने उनको भनाइ छ।
संक्रमणबाट बच्न बालबालिकालाई चिसो, धुवाँ र धुलोबाट जोगाउन तथा स्वास्थ्यमा विशेष ध्यान दिन चिकित्सकले सुझाव दिएका छन्।
ललितपुरमा सरकारी मौज्दातमा राखिएको काठ व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप लागेपछि सशस्त्र प्रहरी ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!