चर्चामा
काठमाडौं । अध्यागमन विभागले एकैपटक ८८ जना विदेशी नागरिकको व्यावसायिक भिसा रद्द गरी नेपालबाट निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ।
सिन्धुलीको मरिण गाउँपालिका–४, साहानस्थित छेन्दु टाइन फुड लिमिटेडको आर्थिक साझेदारीमा निर्माणाधीन जियान फुड्स प्रालि अर्थात् ‘नेपाल हिट प्रोसेस्ड वफेलो मिट एक्स्पोर्ट टु चाइना प्रोजेक्ट’मा कार्यरत ८८ विदेशी नागरिकले अन्य कम्पनीको नाममा व्यावसायिक भिसा लिई भिसाको उद्देश्यविपरीत काम गरेको पाइएपछि भिसा रद्द गरिएको विभागले जनाएको छ।
विभागका अनुसार उनीहरूलाई अध्यागमन ऐन, २०४९ बमोजिम जरिबाना गरी नेपालबाट निष्कासनको प्रक्रिया अघि बढाइएको छ।
व्यावसायिक भिसा रोजगारी, श्रम वा भिसाको उद्देश्यसँग असम्बन्धित काममा प्रयोग गर्न नपाइने विभागले स्पष्ट पारेको छ। नेपालमा व्यापारिक वा औद्योगिक व्यवसायमा लगानी गर्ने अनुमति पाएका विदेशी नागरिक वा सम्बन्धित संस्थाका अधिकृत प्रतिनिधि तथा नेपालमा उत्पादित सामान खरिद गरी निकासी गर्ने विदेशीलाई सम्बन्धित निकायको सिफारिसमा व्यावसायिक भिसा जारी गर्ने व्यवस्था छ।
विभागले सबै विदेशी नागरिकलाई आफूले प्राप्त गरेको भिसाको उद्देश्य र सर्तअनुसार मात्रै नेपालमा गतिविधि गर्न आग्रह गरेको छ। साथै उद्योग, कम्पनी, प्रतिष्ठान तथा रोजगारदातालाई उपयुक्त भिसा र स्वीकृतिबिना विदेशी नागरिकलाई रोजगारीमा नलगाउन चेतावनी दिएको छ।
अध्यागमन कानुन तथा अन्य प्रचलित कानुनविपरीतका कार्यमा संलग्न भएको पाइएमा कानुनबमोजिम कारबाही गरिने विभागले जनाएको छ।
प्रधानमन्त्री कार्यालयमा परेको उजुरीले अहिले एउटा रोचक विषय बाहिर ल्याएको छ। उजुरीमा स्याउका बक्सा त ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!