चर्चामा
नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिका–६ स्थित प्लेगाको घाँगी भिरबाट जमिनभित्रबाटै बारुदजस्तो गन्ध आउने धुवाँ निस्किन थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। गाउँबाट करिब पाँच सय मिटर दक्षिण–पश्चिममा रहेको भिरबाट लगातार धुवाँको मुस्लो निस्किरहेको छ।
लामो समयदेखि देखिएको यो घटनाले स्थानीयमा विभिन्न आशंका जन्माएको छ। पहिरो गएको स्थान नजिकै मानव बस्ती रहेकाले सम्भावित जोखिमको चिन्ता बढेको छ। स्थानीयका अनुसार करिब १५ वर्षअघि पनि यस्तै घटना देखिएको थियो। त्यतिबेला केही समयपछि धुवाँ आफैँ हराएको थियो।
जिल्ला प्रहरी कार्यालय नवलपुरले घटनास्थलको अनुगमन गरी जमिनभित्रबाट बारुदजस्तो गन्ध आउने धुवाँ निस्किरहेको पुष्टि गरेको छ। तर यसको वास्तविक कारण भने अझै खुल्न सकेको छैन। प्रहरीका अनुसार यो विषय प्राविधिक अध्ययनको दायराभित्र पर्ने भएकाले सम्बन्धित निकायले अनुसन्धान गर्नुपर्ने अवस्था छ।
हुप्सेकोट गाउँपालिकाले जमिनमुनि ग्यास हुन सक्ने आशंका व्यक्त गरेको छ। यदि त्यस्तो भएमा भविष्यमा कुनै दुर्घटना वा विष्फोटको जोखिम हुन सक्ने भन्दै स्थानीय तहले चासो देखाएको छ।
घटनाले राष्ट्रिय स्तरमै चर्चा पाएपछि प्रतिनिधिसभामा समेत विषय उठाइएको छ। नवलपुर–१ का सांसद राजन गौतमले सरकारले तत्काल भूगर्भविद्, ग्यास तथा रसायन विज्ञ र विपद् व्यवस्थापनका विज्ञसहितको टोली पठाएर अध्ययन गर्नुपर्ने माग गर्नुभएको छ।
यसैबीच विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले घटनाको अध्ययनका लागि विज्ञ टोली पठाउने जानकारी दिनुभएको छ। गाउँपालिकाले आवश्यक विवरण तथा भिडियोहरू मन्त्रालयमा पठाइसकेको जनाएको छ।
खानी तथा भूगर्भ विभागले पनि विस्तृत अध्ययनपछि मात्र धुवाँको वास्तविक कारण पत्ता लाग्ने बताएको छ। विभागका अधिकारीहरूले यो खानी वा भूगर्भीय प्रक्रियासँग सम्बन्धित हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन्।
प्रधानमन्त्री कार्यालयमा परेको उजुरीले अहिले एउटा रोचक विषय बाहिर ल्याएको छ। उजुरीमा स्याउका बक्सा त ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!