चर्चामा
काठमाडौं । रसुवाको टिमुरे क्षेत्रमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका प्रभु बैंक टिमुरे शाखाका कर्मचारी किशोर गौलीको अवस्था अझै अज्ञात रहँदा परिवारले खोज तथा उद्धार अभियानलाई थप तीव्र बनाउन सरकार तथा सम्बन्धित निकायसँग भावुक अपिल गरेको छ।
धादिङको विशालटार स्थायी घर भएका गौली बाढीपछिदेखि सम्पर्कविहीन छन्। उनीसँगै रहेका अधिकांश कर्मचारीको सकुशल उद्धार भइसके पनि गौलीको अवस्था भने हालसम्म खुल्न सकेको छैन। यसले परिवारलाई थप चिन्तित बनाएको छ।
परिवारका अनुसार टिमुरेको माथिल्लो भेग, आसपासका जङ्गल तथा खोल्सा–खोल्सी क्षेत्रमा अझै केही व्यक्ति अलपत्र परेको वा घाइते अवस्थामा रहेको सूचना आइरहेकाले खोजी कार्यलाई सीमित दायरामा नभई व्यापक रूपमा सञ्चालन गर्न आवश्यक छ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल जारी गर्दै परिवारले समय बित्दै जाँदा जीवित उद्धारको सम्भावना कमजोर बन्दै जाने भएकाले सम्भावित सबै स्थानमा खोज टोली परिचालन गर्न आग्रह गरेको छ। आधुनिक प्रविधि, ड्रोन, विशेष उपकरण तथा आवश्यक परे अन्तर्राष्ट्रिय सहयोगसमेत प्रयोग गरी खोज अभियानलाई प्रभावकारी बनाउनुपर्ने उनीहरूको माग छ।
भोटेकोशी बाढीपछि रसुवा, धादिङलगायत प्रभावित क्षेत्रका धेरै नागरिक अझै सम्पर्कविहीन रहेको उल्लेख गर्दै परिवारले हराइरहेका व्यक्तिको खोजीलाई राज्यको उच्च प्राथमिकतामा राख्न आग्रह गरेको छ।“हामी अझै पनि किशोर सकुशल फर्किने आशामा छौं,” परिवारको अपिलमा भनिएको छ, “खोज तथा उद्धार अभियान निरन्तर, व्यापक र परिणाममुखी बनाइदिनुहोस्।”
बाढीको पीडाबीच आफ्ना प्रियजनको प्रतीक्षामा रहेका परिवारका लागि प्रत्येक दिन पीडादायी बन्दै गएको छ।
यस्तै अवस्थामा गौली परिवारले राज्यका सबै संयन्त्रलाई खोजी अभियानमा थप सक्रिय हुन पुनः आग्रह गरेको छ।
काठमाडौँ ।'कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३'माथि सांसदहरूले ५९ वटा संशोधन प्रस् ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!