श्रम स्वीकृति बिना यात्रुलाई उड्न दिएको आरोपमा अध्यागमन अधिकृतमाथि छानबिन

श्रम स्वीकृति बिना यात्रुलाई उड्न दिएको आरोपमा अध्यागमन अधिकृतमाथि छानबिन

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट श्रम स्वीकृति नलिएका एक यात्रुलाई प्रस्थान अनुमति दिएको विषयमा अध्यागमन विभागले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।

विभागले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार असोज ५ गते श्रम भिसामार्फत कुवेत जान लागेका एक यात्रुलाई श्रम स्वीकृति नलिईकनै प्रस्थान अनुमति दिइएको आशंकापछि अनुसन्धान अघि बढाइएको हो।

विभागका अनुसार नेपाली पोर्ट प्रणाली र सीसीटीभी फुटेजको अध्ययन गर्दा ती यात्री बिहान करिब ६ः३० बजे अध्यागमन क्षेत्रमा प्रवेश गरी श्रम स्वीकृति नभएको अवस्थामै अध्यागमन डेस्कमा करिब ३० मिनेटसम्म कुराकानी गरेको र त्यसपछि बिहान करिब ७ः१० बजे प्रस्थान अनुमति पाएको देखिएको छ।

यस्तै, वैदेशिक रोजगार विभागको श्रम स्वीकृतिसम्बन्धी प्रणालीमा प्राप्त विवरणअनुसार यात्रु उडिसकेपछि मात्र श्रम स्वीकृतिको प्रक्रिया अगाडि बढाइएको पाइएको विभागले जनाएको छ। यसबाट प्रस्थान अनुमति दिँदा श्रम स्वीकृतिको प्रक्रिया पूरा नभएको प्रारम्भिक निष्कर्ष निकालिएको छ।

अनुसन्धानका क्रममा उक्त यात्रु र जापानमा रहेका एक व्यक्तिबीच रकमसम्बन्धी कारोबार भएको तथा त्यस विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका एक अध्यागमन अधिकृतको संलग्नता हुन सक्ने देखिएको विभागले जनाएको छ।

विभागले ती अध्यागमन अधिकृतलाई जिम्मेवारीबाट हटाई विभागमा फिर्ता बोलाइसकेको छ। साथै घटनामा अन्य व्यक्तिको समेत संलग्नता हुन सक्ने देखिएकाले विस्तृत अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गरिएको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP