डोल्पाको सडक ठेक्कामा ७३ लाख भ्रष्टाचार आरोप, आठ जनाविरुद्ध मुद्दा

डोल्पाको सडक ठेक्कामा ७३ लाख भ्रष्टाचार आरोप, आठ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत सडक निर्माण ठेक्कामा अनियमितता गरेको आरोपमा आठ जना तथा एक निर्माण कम्पनीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

आयोगका अनुसार आर्थिक वर्ष २०७८/७९ मा वडा नं. ६ स्थित हरियापानी–पालुङ–माझफाल हुँदै रुकुमसम्म जोड्ने मोटरबाटो निर्माणका लागि आह्वान गरिएको ठेक्कामा सार्वजनिक खरिद ऐन तथा नियमावलीविपरीत कार्य भएको पाइएको हो। 

अनुसन्धानका क्रममा बोलपत्र मूल्याङ्कन प्रक्रियामा अन्य प्रतिस्पर्धी कम्पनीलाई बाहिर पार्ने उद्देश्यले नागरिकताको प्रमाणपत्रलाई बाध्यात्मक सर्त बनाइएको र सार्वजनिक खरिद प्रक्रियामा सहभागी अन्य कम्पनीलाई ठेक्का पाउनबाट वञ्चित गरिएको आयोगको निष्कर्ष छ। 

आयोगका अनुसार सबैभन्दा कम रकम ३० लाख ९९ हजार ८१८ रुपैयाँ ४४ पैसा कबोल गर्ने निर्माण कम्पनीलाई अयोग्य ठहर गरी १ करोड ४ लाख ६१ हजार ७७२ रुपैयाँ १ पैसा कबोल गर्ने छल निर्माण सेवा प्रालिलाई ठेक्का प्रदान गरिएको थियो। यसबाट ७३ लाख ६१ हजार ९५३ रुपैयाँ ५७ पैसा बराबरको सरकारी हानि भएको दाबी गरिएको छ। 

मुद्दा दायर गरिएकामध्ये त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद पोखरेल, तत्कालीन इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिराचन्द्र धराला, वरिष्ठ लेखा सहायक रूपचन्द्र बुढा, शिक्षा अधिकृत भीमबहादुर थापा, एमआईएस अपरेटर हरिचन्द्र बिष्ट, बोलपत्र मूल्याङ्कन समितिका सदस्य शिशिरकुमार गुरुङ तथा छल निर्माण सेवा प्रालि र उसका प्रोप्राइटर दीपचन्द्र रोकायासमेत रहेका छन्। 

अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार बिगो असुल, जरिवाना तथा कैद सजायको मागदाबी गर्दै आरोपपत्र दायर गरेको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP