बाढी उद्धारमा खटिएका सुरक्षाकर्मीलाई मानसिक स्वास्थ्य परामर्श

बाढी उद्धारमा खटिएका सुरक्षाकर्मीलाई मानसिक स्वास्थ्य परामर्श

काठमाडौं । भोटेकोशी बाढी प्रभावित रसुवा र नुवाकोटमा खोज, उद्धार, शव व्यवस्थापन तथा राहत वितरणमा खटिएका सुरक्षाकर्मी र उद्धारकर्तालाई सशस्त्र प्रहरी बल नेपालले मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श प्रदान गरेको छ।

सशस्त्र प्रहरी बलको मनोवैज्ञानिक अध्ययन तथा मनोपरामर्श सेवा इकाईको समन्वयमा असोज ४ गते रसुवा र नुवाकोटमा खटिएको टोलीले उद्धारकर्तासँग अन्तरक्रिया गर्दै मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग उपलब्ध गराएको हो।

मनोविमर्शकर्ता सेजल गेलाल, काउन्सिलिङ साइकोलोजिस्ट करिश्मा काफ्ले र सशस्त्र प्रहरी नायव उपरीक्षक शम्भु विक्रम शाहसहितको टोलीले उद्धारकर्तासँगै कारागारका कैदीबन्दी, होल्डिङ सेन्टरमा रहेका व्यक्ति तथा बाढी प्रभावित स्थानीयलाई समेत परामर्श दिएको जनाएको छ।

गत भदौ १० गतेदेखि रसुवाको धुन्चे, टिमुरे, स्याफ्रुबेँसी तथा नुवाकोटको बेत्रावती, त्रिशूली बजार र ढुंगेबजारलगायत क्षेत्रमा सुरक्षाकर्मीहरू खोज तथा उद्धार कार्यमा निरन्तर खटिँदै आएका छन्।

उद्धारमा संलग्न धेरै सुरक्षाकर्मी स्वयं प्रभावित क्षेत्रका स्थानीय बासिन्दा भएकाले आफ्नै परिवार र आफन्त गुमाएको पीडाबीच पनि नागरिकको उद्धार र सेवामा खटिनुपरेको अनुभव सुनाएका छन्।

क्षतविक्षत शव व्यवस्थापन, आफन्तको खोजीमा रहेका परिवारको पीडा र कठिन परिस्थितिमा निरन्तरको खटाइका कारण उद्धारकर्तामा मानसिक तथा भावनात्मक तनाव देखिएको सशस्त्र प्रहरीले जनाएको छ।

स्थानीय प्रभावित समुदायसँग गरिएको अन्तरक्रियाका क्रममा बाढीपछि पनि डर, त्रास र असुरक्षाको भावना कायमै रहेको पाइएको छ। “फेरि ठूलो वर्षा र बाढी–पहिरो आउला कि भन्ने चिन्ता स्थानीयमा अझै देखिन्छ,” सशस्त्र प्रहरी नायव उपरीक्षक शाहले बताएका छन्।

सशस्त्र प्रहरीले विपद्को प्रत्यक्ष असर भोगेका नागरिक तथा उद्धारकर्ताका लागि भौतिक पुनःस्थापनासँगै मनोसामाजिक पुनःस्थापनालाई पनि प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याएको छ। साथै प्रभावित क्षेत्रबाट फर्किएका सशस्त्र प्रहरी कर्मचारीलाई निरन्तर सम्पर्कमा राखी युनिटस्तरमै मनोपरामर्श सेवा सञ्चालन गर्ने योजना रहेको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP