गुठी सम्पति : सम्पदाको अभिन्न अंग

गुठी सम्पति : सम्पदाको अभिन्न अंग

गुठीः

गुठी कुनै मठ वा कुनै देवी देवताको पर्व, पूजा वा जात्रा,यात्रा चलाउन वा कुनै धार्मिक, सांस्कृतिक, परोपकारी आदि परम्परा, मान्यता, प्रचलन, प्रथालाई सञ्चालन र कायम राखी त्यसको विकास गराउने उद्शयबाट विकसित भएको व्यवस्था हो। गुठीको धार्मिक एवं सांस्कृतिक महत्व हुन्छ, गुठी धार्मिक कार्यका लागि, पूजा, पर्व, जात्रा आदि चलाउनका लागि, संस्कृतिलाई कायम राख्नका लागि वा परोपकारी कार्यका लागि स्थायी आय स्रोतको रुपमा रहेको हुन्छ । दाताले आफ्नो चल अचल सम्पत्ति वा आयस्ता आउने अरु कुनै सम्पत्ति वा रकममा आफ्नो नीजि हक छाडी सार्वजनिक हितका लागि समपर्ण गर्ने हुँदा गुठी भनेको कुनै सामाजिक वा धार्मिक कार्य निरन्तर रुपले सञ्चालन गर्न आफ्नो सम्पत्तिको हक वा स्वामित्व हस्तान्तरण पनि हो, जसले गुठी स्थापना गर्छ वा राख्दछ, उसले सँगसँगै त्यस्तो सम्पत्तिमा आफ्नो हक Wave पनि गर्दछ । गुठीको सिर्जनासँगै व्यक्तिको हक समाप्त हुन्छ । गुठी, व्यक्तिको हक समाप्त हुने र समूह, समूदाय वा सम्प्रदायको हक सिर्जना हुने प्रक्रिया नै गुठी व्यवस्था हो।
गुठी प्रणालीः गुठी प्रणाली सनातन धर्म, संस्कृति, परम्परा एवम् सम्पदाको जगेर्ना र विकास गर्ने नेपालको मौलिक प्रणाली हो। विश्वका अन्य देशहरुमा सार्वजनिक सम्पत्तिका ठूला ठूला संस्थाहरु ट्रष्टका नाममा प्रचलित रहेको पाइए पनि नेपालको गुठी प्रणालीको मौलिकता अन्य देशमा रहेको पाइदैन। नेपालमा खास गरी कुनै एक व्यक्तिले गर्न नसकेका सामाजिक कार्यहरु गुठी मार्फत समुदायद्वारा सहज तरिकाले सम्पन्‍न गर्न गुठी प्रणालीको शुरुवात भएको देखिन्छ। मूल रुपमा उदार र परोपकार उद्देश्य र भावना भएका दाताहरुको अर्पण तथा दानबाट निर्माण भएका संस्था नै गुठी हुन्। गुठी कुनै व्यक्ति वा जाति विशेषको अधिकार प्राप्ति, नाफा, आर्थिक कारोबार वा लाभ तथा व्यापार व्यवसायको लागि शुरुवात भएको होइन। गुठीको स्थापना सामाजिक उद्देश्य, सामाजिक सम्पदा र धर्म, संस्कृतिको विकास र संरक्षण तथा परोपकारी उद्देश्यबाट भएकाले सम्पत्तिको रुपमा मात्र गुठीलाई अर्थ गर्न मिल्ने अवस्था छैन। अर्कोतर्फ गुठी नाफा कमाउने संस्था नभई धर्म, संस्कृति, सम्पदा, परम्परा, पर्व एवम् संस्कार जस्ता नेपाली समाजसँग प्रत्यक्ष सम्बन्ध रहेका गतिविधिलाई निरन्तरता प्रदान गर्न, पुण्य प्राप्ति हेतुले पुर्खाहरुले स्थापना गरेको सामाजिक संस्था हो। गुठी प्रणाली नेपालको सभ्यता, संस्कृति, परम्परा, सम्पदा र संस्कारको निरन्तरताको माध्यमको रुपमा रहेको पाइन्छ। त्यसका साथै पारिवारिक र सामाजिक सहकार्य र समन्वयको प्रतिकको रुपमा रही कुनै व्यक्तिको निहित स्वार्थ भन्दा माथि परोपकार र पुण्य भावनासँग सम्बन्धित रहेको छ। मूलत: गुठी तथा यसको सम्पत्ति माथिको हस्तक्षेप भनेको नेपालको मौलिक धर्म, संस्कृति, सम्पदा, परम्परा र सभ्यता माथिको प्रहार मान्‍नु पर्ने अवस्था छ।
नेपालको गुठी व्यवस्था र अन्य मुलुकको गुठी व्यवस्था विचको भिन्नताः

नेपालको गुठी व्यवस्था मौलिक रहेको भए तापनि गुठीसँग मिल्दो जुल्दो व्यवस्थाहरु अन्य देशहरुमा समेत रहेको पाइन्छ। नेपालको गुठी व्यवस्थालाई भारतको देवुत्तर व्यवस्था, इस्लामिक राष्ट्रहरुमा सामाजिक र धार्मिक उद्देश्य प्राप्तिका लागि सम्पत्तिको व्यवस्थापन गर्न "वक्फ" व्यवस्था तथा मध्यकालीन युरोपमा रहेको चर्च र मठका जमिनहरूको स्वामित्व सम्बन्धी व्यवस्थासँग तुलना गरेको देखिन्छ। भारतको देवुत्तर व्यवस्था अन्तर्गत विशेषत: जग्गा जमिन देवीदेवताको नाममा अर्पण गर्न र सो जग्गाको स्वामित्व देवीदेवताको नाममा रहने व्यवस्थासमेत रहेको भनी भारतको सर्वोच्च अदालतले व्याख्या गरेको छ। यसबाट नेपाल जस्तै अन्य देशहरुमा पनि धार्मिक कार्यको लागि जग्गा जमिन देवीदेवतालाई अर्पण गरी धार्मिक कार्यको व्यवस्थापन गर्ने गरेको समेत देखिन्छ। पश्‍चिमी मुलुकमा "ट्रष्ट" भनी गैर-नाफामूलक संस्थाहरुको स्थापना गरिने प्रचलनलाई नेपालको गुठी व्यवस्थासँग तुलना गरी अंग्रेजीमा गुठी शब्दलाई Trust भनी अनुवाद गरिने गरिएको भए तापनि गुठी र ट्रष्टको अवधारणा फरक रहेको छ। Black's Law Dictionary का अनुसार Trust लाई " Trust: The right, enforceable solely in equity, to the beneficial enjoyment of property to which another person holds the legal title; a property interest held by one person (the trustee) at the request of another (the settlor) for the benefit of a third party (the beneficiary). For a trust to be valid, it must involve specific property, reflect the settlor's intent, and be created for a lawful purpose."  भनी परिभाषित गरेको पाइन्छ। त्यस्तै Merriam Webster Dictionary ले "a fiduciary relationship in which one party holds legal title to another's property for the benefit of a party who holds equitable title to the property" भनी व्यख्या गरेको छ। यसरी "Trust" लाई कानूनी शब्दकोशहरुमा कुनै व्यक्तिको कानूनी स्वामित्वमा रहेको सम्पत्तिको लाभदायी उपभोगको अधिकार, जुन एक व्यक्ति (न्यासी) द्वारा अर्को व्यक्ति (न्यासकर्ता) को अनुरोधमा तेस्रो पक्ष (लाभग्राही) को हितको लागि धारण गरिएको हुन्छ भनी परिभाषित गरिएको देखिन्छ। ट्रष्ट मा ३ पक्ष रहन्छन् र ३ पक्षबीच आर्थिक सम्बन्ध रहेको हुन्छ भन्‍ने समेत उक्त परिभाषामा उल्लेख गरिएको पाइन्छ। ट्रष्टको लाभग्राही तेस्रो पक्ष हुने गरेकोसमेत परिभाषाबाट देखिन्छ। यसरी उल्लिखित परिभाषासमेतलाई मध्यनजर गर्दा गुठी आर्थिक प्रयोजनको लागि राखिएको नभई सामाजिक, सांस्कृतिक तथा धार्मिक प्रयोजनको लगि स्थापित हुने र यसको प्रयोग गुठीयारहरुले गुठी स्थापनाको उद्देश्य अनुरुप गर्ने गरेको पाइन्छ। "गुठी" नेपाली समाजको विशिष्ट सांस्कृतिक र धार्मिक परम्परासँग गहिरो रुपमा जोडिएको छ तर "ट्रष्ट"को अवधारणा मूलतः पश्‍चिमी कानूनी प्रणालीबाट विकसित भएको हो। त्यस्तै गुठीहरुमा समुदायको प्रत्यक्ष संलग्नता र सहभागिता बढी हुन्छ, जुन ट्रष्टमा रहेको पाइदैन। "गुठी" र "ट्रष्ट" दुवैमा सामाजिक उत्तर दायित्वको भावना निहित भएको हुँदा ट्रष्ट शब्दले गुठीको केही पक्षलाई समेटेको भए तापनि यसले गुठीको समग्र सांस्कृतिक, धार्मिक र सामाजिक महत्वलाई पूर्ण रुपमा प्रतिबिम्बित गर्न सक्दैन। त्यसकारण "गुठी" र "ट्रष्ट" शब्दलाई पर्यायवाची रुपमा प्रयोग गर्नु उपयुक्त हुने देखिदैन। उक्त तुलनात्मक विवेचनाबाट स्पष्ट हुन्छ कि नेपालमा परापूर्वकालदेखि प्रचलनमा रहँदै आइरहेको गुठी सम्बन्धी व्यवस्थाको आफ्नै मौलिक पहिचान रहेको पाइन्छ। 

गुठी सम्बन्धी कानूनी व्यवस्थाको ऐतिहासिक पक्षः
 नेपालमा गुठी व्यवस्थालाई मुलुकी ऐन, १९१० मा दत्त गुठीको महल मार्फत समावेश गरी कानूनी मान्यता दिएको देखिन्छ। दत्त गुठीको महल को ३ नं. मा "... जस्का पुर्षाले गुठी राष्या हो उस्का संतानले जिर्णोद्धार गर्न सक्यापनी नसक्या पनि आफ्ना पुर्षाको धर्म थामी गुठिका जगाको सेष रह्याको षान पाउछन् वेचन्यालाई तेसै जगाका सालका उव्‍जनि बमोजिम दण्ड गर्नु रुपैयाँ नतिर्‍या मैन्हाका ५ रुपैयाँका दर्ले कैद गर्नु" भनी गुठीको सम्पत्ति गुठी राख्‍ने तथा गुठी राख्‍ने व्यक्तिको सन्तानले समेत बेच्न नपाउने भनी गुठीको संरक्षण गरिएको देखिन्छ। त्यस्तै, ऐ. ऐनको १७ नं. मा "कसैका पुर्षाले राष्या गुठिमा गुठियारका संतानले वेच्यो र कोही साहुले किन्यो भन्या तेस गुठिका दानपत्र सिलापत्र सनद हेरि गुठि ठहर्‍यो भन्या तेसले वेच्याको बदर किन्याको पनि वीसही जौना कामको गुठि हो उही धर्म चलाउन थामींछ... सर्कारको केही रंक कलंको बाँकी छ भन्या पनि दुनियाको कारोवार छ भन्या पनी गुठिका जगा समाउन हुदैन गुठिजानी किंन्या साहु रहेछ भण्या साहु असामी दुवैलाई १।१ सालका उवजनी वमोजिम दण्ड गर्नु रुपैयाँ तिरेन भन्या मैन्हाका ५ रुपैयाँ का दरले कैद गर्नु।" भनी गुठी राखिएको जग्गा किनबेच गरिएमा बदर हुने, गुठीको जग्गाबाट सरकारले समेत केही असुल गर्न नपाउने तथा गुठीको जग्गा जानाजान किनबेच गरेमा कैदसमेत हुन सक्ने भनी गुठीको संरक्षणलाई विशेष महत्व दिएको देखिन्छ। 
 दत्त गुठीको महलको २ नं. मा "... जसले गुठि संकल्प गरि राष्याकोछ राषन्या संतानले हवस् राजषात गरि अर्काको ज्यानमान्‍याको षतलागिस् तापनी ज्यान लिन्याविहोरमा ज्यान लिनु धन सजाय हुन्या विहोरा भया धनलिनु करणीको षत गन्‍यामा अैन बमोजिम सजाय गर्नु एस्ता गुठि कसैले नहर्नु जो अघि देखि चलि आयाकोछ सो बमोजिम धर्म चलाउनु गुठीहरन नगर्नु जस्का मोहर दस्षत्ले हर्ला त्यो पाप उसैलाई लाग्ला..." भनी कुनै अपराध गरेबापत दण्ड गर्दा गुठी संकल्प गरी राखिएको जग्गा तथा सम्पत्तिबाट गर्न नपाइने भनी कानूनमा व्यवस्था गरिएको पाइन्छ। सो पश्चात "वि.सं. १९५४ को मुलुकी सवालको गुठीको दफा नं. ४ मा गुठी जति राष्याको छ सो आफ्नो हक छोडी देव प्रीति गर्याको ठहर्छ सो हक छोड्याको हुनाले सनदमा लेखिया बमोजिम काम आफ्ना हकवाला सन्तानले चलाउन पाउँछ जग्गा बेच्न बन्धक राषन पाउँदैन बाँकी शेषमात्र हकवालाले बन्धक राषन पाउछ अरु गुठियारले राषन हुँदैन।" भनी गुठीको लागि अर्पित गरिएको सम्पत्तिलाई बेचबिखन गर्न कानूनले रोक लगाएको देखिन्छ। मुलुकी ऐन, दत्त गुठीको महलका उपरोक्त कानूनी व्यवस्थाहरु तथा मुलुकी सवालको उपरोक्त दफाबाट उक्त कालखण्डमा गुठीलाई सम्पत्तिको परिभाषा भित्र संकुचित नगरी धर्म संस्कृतिको अभिन्‍न अंगको रुपमा पहिचान गरी कानूनमा सोही बमोजिमको व्यवस्था गरिएको देखिन्छ। 
मुलुकी ऐन, २०२० ले गुठीको अस्तित्वको विषयमा मुलुकी ऐन, १९१० बमोजिमको मान्यतालाई निरन्तरता दिएको देखिन्छ। मुलुकी ऐन, गुठीको महलको ३ नं. अनुसार आफ्नो हक छाडी गुठी राखेकोमा सो गुठी राख्‍ने वा उनको सन्तान वा हकदारले गुठीको दानपत्र सिलापत्र समेतका लिखत बमोजिम काम चलाई शेष जगेडासम्म मात्र खान पाउने लेखिए बाहेक बेचबिखन दानदातव्य वा कुनै किसिमले हक हस्तान्तरण गर्न पाउँदैन भनी प्रष्ट उल्लेख गरेको छ। यस कानूनी व्यवस्थाले गुठी बापत राखिएको जग्गालाई सम्पत्ति सरह बेचबिखन तथा कुनै किसिमबाट हक हस्तान्तरण गर्न नपाइने भनी गुठीलाई अचल सम्पत्तिको दायरा भन्दा बृहत रुपमा परिभाषित गरेको देखिन्छ। 
गुठी संस्थान ऐन, २०२१ आउनुपूर्व गुठीको सम्बन्धमा छुट्टै ऐन रहेको पाइँदैन। उक्त ऐनको दफा २(च) मा "गुठी भन्‍नाले कुनै मठ वा कुनै देवीदेवताको पर्व, पूजा वा जात्रा चलाउन वा कुनै धार्मिक वा परोपकारी कार्यका लागि कुवै देवस्थल, धर्मशाला, पाटी, पौवा, इनार, पोखरी, पुल पाठशाला, घर इमारत वा संस्था बनाउन चलाउन वा त्यसको संरक्षण गर्न कुनै दाताले आफ्नो चल वा अचल सम्पत्ति वा अरु कुनै आयस्ता आउने रकमहरु हक छाडी कायम गरेको गुठी सम्झनु पर्छ" भनी गुठीलाई परिभाषा गरेको पाइन्छ। गुठीको स्थापना गर्न प्रदान गरिएको आफ्नो चल वा अचल सम्पत्तिमा दाताको हक समाप्‍त हुने गरी गुठीलाई दाताको सम्पत्तिको रुपमा नहेरी गुठीलाई एक अलग संस्थाको रुपमा उक्त ऐनले राखेको देखिन्छ। गुठीको यही परिभाषालाई गुठी संस्थान ऐन, २०२९ तथा गुठी संस्थान ऐन, २०३३ ले समेत आत्मसात गरेको पान्छ।

 संवैधानिक रुपमा हेर्दा हाल प्रचलनमा रहेको नेपालको संविधानले धारा ११६ ले गुठी रकमलाई संघीय सञ्‍चित कोषमा जम्मा नहुने व्यवस्था गरेको पाइन्छ। त्यस्तै धारा २०४ मा प्रदेश सञ्‍चित कोषमासमेत सोही व्यवस्था रहेको छ। यस पूर्वको नेपालको अन्तरिम संविधान, २०६३ को धारा ९० मासमेत गुठीको रकम सम्बन्धमा सोहि प्रकारको व्यवस्था रहेको देखिन्छ। मूलत: राज्य सञ्‍चालनका लागि आवश्यक पर्ने सबै प्रकारका राजश्‍व, ऋण, कर्जासमेत राज्यको सञ्‍चित कोषमा जम्मा हुने भए पनि गुठीको रकमलाई सो कोषमा जम्मा नगरिने व्यवस्थाको अर्थ गुठीको सम्पत्तिको महत्वलाई सम्मान गरी गुठी कै काममा बाहेक राज्यका अन्य काममा प्रयोग हुन नसक्ने भनी प्रदान गरिएको संवैधानिक प्रत्याभूतिको अर्थमा बुझ्न सकिन्छ। संविधानको धारा २९० को उपधारा (१) मा गुठीको मूलभूत मान्यतामा प्रतिकूल असर नपर्ने गरी गुठी जग्गामा भोगाधिकार भैरहेको किसान एवम् गुठीको अधिकार सम्बन्धमा संघीय संसदले आवश्यक कानून बनाउनेछ भनी गुठीको मूलभूत मान्यतामा प्रतिकूल असर पर्ने गरी कानून बनाउन नसक्ने गरी संघीय संसदको अधिकार क्षेत्रलाई सीमित गरेको पाइन्छ। त्यसैगरी धारा २६ को उपधारा (२) ले प्रत्येक सम्प्रदायलाई धार्मिक गुठी सञ्‍चालन र संरक्षण गर्न पाउने हकलाई सुरक्षित गरी प्रतिबन्धात्क वाक्यांशमा धार्मिक गुठी सञ्‍चालन र संरक्षण गर्न तथा जग्गा व्यवस्थापनको लागि कानून बनाई नियमित गर्न सक्ने भन्‍ने उल्लेख छ। सो प्रतिबन्धात्मक व्यवस्थाले राज्यले गुठीको सम्पत्ति संरक्षण एवम् गुठी जग्गा व्यवस्थापनको लागि कानून बनाउन पाउने अवस्था देखियो। गुठीको संरक्षण गर्न भनी राज्यद्वारा कानून बनाई स्थापना गरिएको राज्यको निकाय (State Agency) गुठी संस्थान हो। नेपालको संविधानको धारा २६ को उपधारा (२) मा उल्लेख भएको व्यवस्थापन भन्‍ने शब्दले गुठीको मूलभूत मान्यतालाई नै असर पर्ने गरी गुठीको सम्पत्तिलाई व्यवस्थापन गर्ने अधिकार संविधानले न त विधायिकालाई प्रदान गरेको छ, न त State Agency को रुपमा रहेको गुठी संस्थानलाई नै दिएको छ। गुठी संस्थान ऐन, 2033 को दफा ४२ मा उल्लेख भएको गुठी जग्गा अधिग्रहणको व्यवस्था अधिग्रहण सम्बन्धी प्रचलित कानून बमोजिम आकर्षित हुने हो। त्यसैगरी दफा ४२क बमोजिम सामाजिक कल्याण वा सामुदायिक हितका लागिसम्म गुठी जग्गा लिन सक्ने व्यवस्थालाई संविधानमा उल्लेख भएको गुठी जग्गाको व्यवस्थापन भन्‍ने शब्दको सापेक्षतामा हेरिनु पर्दछ। अन्यथा व्यवस्थापनको नाममा प्रचलित कानून विपरित हुने गरी गुठी जग्गाको प्रयोग भएको अवस्थामा गुठीको सम्पत्ति नै समाप्त हुन जाने सम्भावना रहन्छ।यस तर्फ राज्यले संवेदनशिल ढंगबाट हेर्नुपर्ने देखिन्छ।

गुठी सम्पत्तिको रूपमा वर्गिकरण गर्नु नभई वृहत्तहर रुपमा हेर्नुपर्ने व्यवस्था हो? 
गुठी भनेको धार्मिक, सामाजिक र परोपकारी कार्यका लागि स्थापना गरिएको संस्था हो, जसको आफ्नै सम्पत्ति हुन्छ र त्यसबाट प्राप्त आम्दानीले गुठीको उद्देश्य पूरा गरिन्छ। त्यसैगरी गुठी शब्दलाई शाब्दिक रुपमा धार्मिक वा परोपकारी कार्य सञ्‍चालनका लागि छुट्याइएको, त्यसैबाट आउने आयस्ताले देवपितृको पूजा आदि चलाइने र जग्गा, घर, सम्पत्ति आदिको देखरेख गर्ने सामाजिक संस्था भनी परिभाषित गरेको पाइन्छ। कानूनविद टोपबहादुर सिंहका अनुसार “कुनै मठ, मन्दिर वा धार्मिक स्थलको संरक्षण तथा पूजाआजाको लागि वा कुनै धार्मिक वा परोपकारी कामको लागि कुनै व्यक्ति वा संस्थाले आफ्नो चल वा अचल सम्पत्ति अर्पण गरी स्थापना गरेको संस्था” नै गुठी हो। "गुठी भनेको धार्मिक-सांस्कृतिक कार्यहरुलाई स्थायित्व र निरन्तरता प्रदान गर्ने जिउनी हो" भनी संस्कृतिविद् डा. गोविन्द टण्डनले गुठीको व्याख्या गरेको देखिन्छ।
 

गुठी शब्दको उत्पत्ति संस्कृत भाषाको "गोष्ठी" शब्दबाट भएको र गोष्ठी शब्दको प्रयोग गरी लिच्छवीकालमा पशुपतिनाथमा शिलापत्र राखिएको  तथा  मानदेवको पालामा निर्माण गरिएको चाँगुनारायण मन्दिरको शिलापत्रमा गुठी शब्दको प्रयोग गरिएको भनिएबाट नेपालमा गुठीको इतिहास लिच्छवीकाल भन्दा पहिलेबाट सुरु भएको अनुमान गर्न सकिन्छ। गुठी सम्बन्धी कानूनी व्यवस्थाको विकासक्रमलाई हेर्दा औपचारिक रुपमा गुठीलाई व्यवस्थापन गर्न  वि.सं. १७६९ मा गुठी जाँच कचहरीको स्थापना भएको भनी अभिलेखित छ। प्रधानमन्त्री जङ्गबहादुर राणाले गुठी जाँच कचहरीको सट्टा गुठी बन्दोबस्त अड्डा (व्यवस्थापन कार्यालय) को स्थापना गरी गुठी जग्गाको अभिलेख राख्‍ने गरेको पाइन्छ। यसबाट गुठीको व्यवस्थाको अस्तित्व नेपालमा प्राचीन कालदेखि नै रहेको देखिन आउँछ। प्राचीन इतिहास भएको गुठी व्यवस्था नेपालमा विभिन्‍न जात्रा, पर्व तथा मन्दिरको सञ्‍चालनमा वर्तमान समयमा समेत सक्रिय रही आएको पाइन्छ। परापूर्व कालदेखि सञ्‍चालन हुने राष्ट्रिय स्तरका मछिन्द्रनाथको जात्रा, इन्द्र जात्रा लगायतका जात्रा, पर्व तथा पशुपतिनाथदेखि जानकी मन्दिरको पूजाआजा तथा सञ्‍चालनमा गुठी व्यवस्थाको महत्वपूर्ण भूमिका रहेको तथ्य स्थापित नै रहेको छ। 
 

गुठीको स्थापना मूलतः धार्मिक एवं आध्यात्मिक साथै परोपकारी प्रयोजनको लागि हुने गरेको र गुठीको स्थापनामा लोकहितको भावना अन्तर्निहित भएको पाइन्छ। गुठी स्थापना गर्दा दाताले सम्पूर्ण हक त्याग्ने, गुठीको सम्पत्तिलाई गुठी स्थापनाको उद्देश्य परिपूर्ति बाहेक अन्य प्रयोजनका लागि प्रयोग गर्न नमिल्ने, गुठीलाई मास्न, नास्न नमिल्ने तथा अन्य सम्पत्ति सरह गुठीमा कसैको एकल हक स्थापित हुन नसक्नेसमेत हुँदा गुठीलाई केवल सम्पत्ति भनी परिभाषा गर्न उचित हुने देखिदैन। 
गुठीको अस्तित्व नेपाली समुदायको धर्म, संस्कृति तथा रितीथितिसँग अभिन्‍न रुपमा जोडिएको छ। गुठीको स्थापना धार्मिक तथा सांस्कृतिक कार्यको लागि हुने तथा गुठीको सम्पत्तिको प्रयोग मुख्यतया गुठी स्थापनाको उद्देश्य बमोजिमको कार्य निरन्तर रुपमा गर्नको निमित्त स्थायी आर्थिक स्रोतको रुपमा हुने गरेको कुरा गुठीको ऐतिहासिक पृष्ठभूमीबाट बुझ्न सकिन्छ। नेपालमा ठुलाठुला मन्दिरहरुको पूजाआजा गर्न, नित्य कार्यहरुको लागि सामग्री जुटाउन, जात्रा चलाउन लगायतका धार्मिक एवं सांस्कृतिक कार्यहरुका निमित्त विभिन्‍न गुठीहरु स्थापना भई उक्त गुठीहरु हालसम्म पनि प्रचलनमा रहेका छन्। गुठीको स्थापना तथा ऐतिहासिक पृष्ठभूमि एवं कानूनी इतिहासलाई केलाउदा गुठीको अवधारणा सधै धर्म एवं संस्कृतिसँग जोडिएर आएको तथा संस्कृतिको संरक्षणमा गुठीको भूमिका विशिष्ट रहेको तथ्यलाई अन्यथा भन्‍न सकिने अवस्था छैन। 
  

नेपालमा गुठी वा गुठी प्रणालीको अर्थ केवल सम्पत्तिको रुपमा सीमित छैन। विधिशास्त्रीय धारणाबाट हेर्दा गुठीको नाममा रहेको भौतिक अभौतिक चलअचल गुठीको नाम तथा ख्यातीसमेत सम्पत्तिको परिभाषा एवम् प्रकृतिभित्र पर्न सक्छ। परन्तु नेपालमा जुन रुपमा गुठीको विशिष्ठिकृत मौलिकता र त्यसको आयम रहेको छ, त्यस अर्थमा गुठी सम्पत्तिलाई विधिशास्त्रको सम्पत्तिको परिभाषा भित्र सीमित गर्न सकिने अवस्था छैन। नेपालमा गुठी प्रणाली एवम् गुठीसँग सम्बन्धित सम्पत्तिलाई भौतिक अभौतिक सम्पत्तिको रुपमा नभई सम्पदा, परम्परा एवम् संस्कृतिको स्रोतको रुपमा लिनुपर्ने अवस्था छ। नेपालका संस्कृतिविदहरुले गुठी प्रणाली र गुठीसँग सम्बन्धित जग्गाजमिनलाई सम्पत्तिको रुपमा मात्र नहेरी सम्पदा र संस्कृति हो भनी अर्थ गरेको पाइन्छ।
गुठी प्रणाली सनातन धर्म, संस्कृति, परम्परा एवम् सम्पदाको जगेर्ना र विकास गर्ने नेपालको मौलिक प्रणाली हो। विश्वका अन्य देशहरुमा सार्वजनिक सम्पत्तिका ठूला ठूला संस्थाहरु ट्रष्टका नाममा प्रचलित रहेको पाइए पनि नेपालको गुठी प्रणालीको मौलिकता अन्य देशमा रहेको पाइदैन। नेपालमा खास गरी कुनै एक व्यक्तिले गर्न नसकेका सामाजिक कार्यहरु गुठी मार्फत समुदायद्वारा सहज तरिकाले सम्पन्‍न गर्न गुठी प्रणालीको शुरुवात भएको देखिन्छ। मूल रुपमा उदार र परोपकार उद्देश्य र भावना भएका दाताहरुको अर्पण तथा दानबाट निर्माण भएका संस्था नै गुठी हुन्। गुठी कुनै व्यक्ति वा जाति विशेषको अधिकार प्राप्ति, नाफा, आर्थिक कारोबार वा लाभ तथा व्यापार व्यवसायको लागि शुरुवात भएको होइन। गुठीको स्थापना सामाजिक उद्देश्य, सामाजिक सम्पदा र धर्म, संस्कृतिको विकास र संरक्षण तथा परोपकारी उद्देश्यबाट भएकाले सम्पत्तिको रुपमा मात्र गुठीलाई अर्थ गर्न मिल्ने अवस्था छैन। अर्कोतर्फ गुठी नाफा कमाउने संस्था नभई धर्म, संस्कृति, सम्पदा, परम्परा, पर्व एवम् संस्कार जस्ता नेपाली समाजसँग प्रत्यक्ष सम्बन्ध रहेका गतिविधिलाई निरन्तरता प्रदान गर्न, पुण्य प्राप्ति हेतुले पुर्खाहरुले स्थापना गरेको सामाजिक संस्था हो। गुठी प्रणाली नेपालको सभ्यता, संस्कृति, परम्परा, सम्पदा र संस्कारको निरन्तरताको माध्यमको रुपमा रहेको पाइन्छ। त्यसका साथै पारिवारिक र सामाजिक सहकार्य र समन्वयको प्रतिकको रुपमा रही कुनै व्यक्तिको निहित स्वार्थ भन्दा माथि परोपकार र पुण्य भावनासँग सम्बन्धित रहेको छ। मूलत: गुठी तथा यसको सम्पत्ति माथिको हस्तक्षेप भनेको नेपालको मौलिक धर्म, संस्कृति, सम्पदा, परम्परा र सभ्यता माथिको प्रहार मान्‍नु पर्ने अवस्था छ।
    

गुठीलाई सम्पत्तिको रुपमा मात्र होइन, वृहत्तर रुपमा एउटा सांस्कृतिक, धार्मिक र सामाजिक संस्थाको रुपमा लिइनु पर्दछ। गुठीलाई सम्पत्तिको रुपमा सीमित अर्थमा मात्र बुझ्नु भनेको यसको वास्तविक महत्वलाई नै सीमित गर्नु हो। यसलाई वृहत्तर रुपमा एउटा सभ्यता, परम्परा, संस्कार, सम्पदा, संस्कृति र समुदायलाई एकताबद्ध राख्‍ने माध्यमका रुपमा हेरिनु पर्दछ। यसको सम्पत्ति जग्गा जमिनलाई व्यवस्थापन एवम् संरक्षण गर्दा पनि केवल सम्पत्तिको व्यवस्थापनको दृष्टिकोणबाट गर्ने नभई वृहत्तर धार्मिक, सांस्कृतिक र सामाजिक सन्दर्भबाट हेरिनु पर्दछ। यसलाई सम्पत्तिको रुपमा मात्र हेर्दा परम्परागत मान्यता र सांस्कृतिक अभ्यास लोप हुने तथा जोखिम रहन्छ। गुठीलाई केवल सम्पत्तिको व्यवस्थापनको अर्थमा लिइदा नेपालको सांस्कृतिक र धार्मिक धरोहर माथि अन्याय हुन जान्छ। वृहत्तर दृष्टिकोणबाट हेर्दा, गुठीको ऐतिहासिक, सांस्कृतिक, धार्मिक र सामुदायिक पक्षलाई महत्व दिएर सन्तुलित व्यवस्थापन गर्नुपर्ने हुन्छ। यसरी गुठी व्यवस्थाको स्थापना, इतिहास, कानूनी विकासक्रम तथा गुठीको वर्तमान समयमा रहेको क्रियाशीलतालाई समेत मध्येनजर गर्दा गुठीलाई सम्पत्तिको परिभाषा भित्र मात्र संकुचित नगरी बृहत्तर रुपमा सम्पदाको अभिन्‍न अंगको रुपमा हेरिनुपर्ने देखिन्छ।

निश्कर्षः
सर्वजन हिताय र सर्वजन सुखाएको मान्यताबाट अभिप्रेरित भई राखिएको गुठीलाई समुदायले आफ्नो ठान्ने, सबैको प्रयासबाट त्यसको प्रभावकारी उपयोग गरिने र दुरुपयोग हुन नदिने हुँदा गुठी सम्पदाको निरन्तरताको सुनिश्चतता गरी गुठी सम्पदाको संरक्षण राज्य र समुदायकै दायित्वभित्र पर्दछ। गुठी भनेको कुनै एउटा धार्मिक सम्प्रदाय वा सांस्कृतिक समुदायसंग मात्र सम्बन्धित विषय होईन। यो त एउटा पद्धति र प्रकृया हो। यसमा मेरो भनिएको बस्तुलाई हाम्रोमा परिणत गरिएको हुन्छ। दाताले आफ्नै समूदायको हितलाई मध्यनजर राखी तथा सार्वजनिक प्रयोगमा उपभोग गर्ने गरिदिन्छ। जसले धार्मिक उन्नति, सांस्कृतिक जर्गेना तथा सामाजिक उपभोगका लागि आफ्नो सम्पति समर्पण गरेको हुन्छ। निश्चित उद्देश्य राखेर अर्पण गरिएको सम्पति त्यही उद्देश्य प्राप्तिमा उपयोग गरिनुपर्छ। गुठी सम्पदा, गुठी संस्कृति र त्यसमा जोडिएको मूल्य मान्यताहरुमा चोट पुग्नु भनेको समाज र राष्ट्रको लागि ठूलो नोक्सानी हो। गुठी एउटा सभ्यता, परम्परा, संस्कार, सम्पदा, संस्कृति र समुदायलाई एकताबद्ध राख्‍ने माध्यमका रुपमा रहेको हुँदा  गुठी सम्पदाको संरक्षणबाट नै राष्ट्रिय अखड्ता मजबुत हुने कुरामा दुई मत हुन सक्दैन।(जनक पोखरेल मुख्य कानून अधिकृत,  गुठी संस्थान)

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP