महोत्तरी । घरमा आफन्त र छिमेकीको बाक्लो आउजाउ छ। सबैले एउटै कुरा भन्छन्-‘विकासलाई केही हुँदैन, छिट्टै फर्किन्छन्।’ तर १२ दिन बितिसक्दा पनि श्रीमान्को कुनै खबर नआएपछि महोत्तरीको पिपरा–३ की इन्दिरा यादवको मनमा भने आशासँगै बेचैनी पनि बढ्दै गएको छ।
६ महिनाकी गर्भवती इन्दिरा अहिले छिनछिनमा टोलाउँछिन्, बर्बराउँछिन् र आफैँसँग प्रश्न गर्छिन्-‘ मेरो गर्भमा रहेको बच्चाले पिता देख्न पाउला ?’
उनको काखमा दुई वर्षीया छोरी छिन्। छोरीले अझै बाबुको महत्त्व बुझ्न पाएकी छैनन्। उता गर्भमा हुर्किरहेको शिशुले जन्मिएपछि बाबुको अनुहार देख्न पाउने हो कि होइन भन्ने चिन्ताले इन्दिरालाई दिनरात पिरोलिरहेको छ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले उनका श्रीमान् विकास कुमार यादवलाई बेपत्ता बनाएको हो। त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा सिभिल इन्जिनियरका रूपमा कार्यरत विकास त्यसदिन बिहान करिब साढे ६ बजे ड्युटीमा निस्किएका थिए।
बाढी आउन थालेपछि क्वाटर बाहिरका सुरक्षागार्डले इन्दिरालाई सुरक्षित स्थानतर्फ जान आग्रह गरे। उनले छोरीलाई काखमा च्यापेर हतार–हतार डाँडातर्फ पुगिन्। त्यसपछि श्रीमान्लाई फोन गरिन्। तर सम्पर्क भएन।
बिहान ९ः२० बजेसम्म विकास अनलाइन देखिएका थिए। त्यसको केही मिनेटपछि फोन गर्दा भने सम्पर्क हुन सकेन। साँझसम्म श्रीमान् फर्किने आशमा बसेकी इन्दिराले अन्ततः आफैँ तल पुगेर खोजिन्, तर विकासको कुनै अत्तोपत्तो लागेन।
नेपाली सेनाले इन्दिरा र उनकी छोरीलाई उद्धार गरी काठमाडौं ल्यायो। तर श्रीमान्को खोजी भने अझै जारी छ। एकातिर पेटमा हुर्किरहेको सन्तान, अर्कोतिर बाबुको प्रतीक्षामा रहेकी दुई वर्षीया छोरी र बीचमा श्रीमान्को खबर पर्खिरहेकी इन्दिरा- उनको घरमा अहिले हरेक ढोकाको आवाजले आशा जगाउँछ, तर केही क्षणमै निराशा छाउँछ।
यता विकासका बुवा शम्भुनाथ, आमा बिनादेवी र भाइ सुभाष पनि छोराको खबरको प्रतीक्षामा छन्। जिल्ला प्रशासन कार्यालयले शम्भुनाथको डीएनए परीक्षणका लागि नमुना संकलन गरेको छ।
‘पढाइमा निकै अब्बल थियो, कहिल्यै दोस्रो भएन। अहिले त आफ्नो घरको मुख्य पिलर नै ढलेको जस्तो भएको छ,’ शम्भुनाथले छोरालाई सम्झिँदै भने।
परिवारले सुरुङभित्र फसेका व्यक्तिको उद्धारमा समयमै आवश्यक प्रविधि र विदेशी विज्ञको सहयोग लिन नसक्दा खोजी प्रभावित भएको गुनासो गरेको छ।
भोटेकोशी बाढीमा मधेस प्रदेशका मात्रै १७८ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। तर इन्दिराका लागि यो संख्या होइन, त्यो भीडभित्र हराइरहेका एक जना विकास नै संसार हुन्।
त्यसैले उनी अझै प्रतीक्षामा छिन्-सायद कुनै दिन ढोकाबाट श्रीमान् पस्नेछन् र उनीसँगै उनकी दुई वर्षीया छोरी र गर्भमा रहेको शिशुले बाबु भेट्नेछन्।अझै श्रीमान् फर्किने आशा मारेकी छैनन्। उनको एउटै प्रार्थना छ-‘भगवानले मेरो सिन्दूर नपुछून्, मेरा बच्चाले बाबालाई देख्न पाऊन्।
सङ्खुवासभा । पाँचखपन नगरपालिका-८ पोख्राङमा वर्षासँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने द ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!