मस्को। विश्व राजनीतिमा नयाँ तरंग ल्याउने सम्भावित घटनाका रूपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको भेटवार्ताको चर्चा तीव्र बनेको छ। चीनमा आगामी नोभेम्बरमा हुने एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) सम्मेलनका क्रममा दुई नेताबीच भेट हुन सक्ने संकेत क्रेमलिनले दिएको हो।
क्रेमलिनका वरिष्ठ सल्लाहकार युरी उसाकोभले दुवै नेताले एपेक सम्मेलनमा सहभागी हुने योजना बनाएको र अवसर मिलेमा पुटिन तथा ट्रम्पबीच छुट्टै भेटवार्ता हुन सक्ने बताएका छन्। उनका अनुसार रुसले राष्ट्रपति पुटिनका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङलगायत अन्य विश्व नेतासँग पनि द्विपक्षीय बैठकको तयारी गरिरहेको छ।
यसअघि पनि उसाकोभले पुटिन, ट्रम्प र सि जिनपिङबीच त्रिपक्षीय भेटवार्ताको सम्भावनाबारे संकेत दिएका थिए। यद्यपि, यस्तो बैठकका लागि आवश्यक कूटनीतिक तयारी र एजेन्डाबारे अझै औपचारिक निर्णय भइसकेको छैन।
रुस–अमेरिका सम्बन्ध, युक्रेन युद्धको समाधान, विश्व सुरक्षा र आर्थिक सहकार्यका विषय सम्भावित भेटवार्ताका मुख्य एजेन्डा बन्न सक्ने अनुमान गरिएको छ। हालै मस्को र वासिङ्टनबीच संवादको क्रम बढिरहेका बेला यस्तो भेटवार्ताको चर्चा विश्वभर चासोका साथ हेरिएको छ।
यदि भेटवार्ता सम्पन्न भयो भने पछिल्ला वर्षहरूमा चिसिएको रुस–अमेरिका सम्बन्धमा नयाँ अध्याय सुरु हुन सक्ने विश्लेषकहरूको अनुमान छ। एपेक सम्मेलनलाई यसपटक आर्थिक मञ्च मात्र नभई विश्व शक्ति राष्ट्रहरूको कूटनीतिक प्रतिस्पर्धा र सहकार्यको केन्द्रका रूपमा समेत हेरिएको छ।
काठमाडौ ।उपल्लो मुस्ताङ केन्द्रविन्दु भएर गएको भूकम्पबाट क्षतिग्रस्त घरहरूबाट सामान सुरक्षित स्थानमा ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!