सरकारको १०० दिन : दुई लाखभन्दा बढी राहदानी हुलाकमार्फत जिल्लामा, ३० लाखभन्दा बढी लाइसेन्स छापियो

सरकारको १०० दिन : दुई लाखभन्दा बढी राहदानी हुलाकमार्फत जिल्लामा, ३० लाखभन्दा बढी लाइसेन्स छापियो

काठमाडौं। वर्तमान सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिनको उपलब्धि सार्वजनिक गर्दै सार्वजनिक सेवा प्रवाहलाई सहज, छिटो र प्रविधिमैत्री बनाउने दिशामा उल्लेखनीय प्रगति भएको दाबी गरेको छ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दुई लाख ६ हजार ३३० थान राहदानी हुलाकमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा पुर्‍याइएको जानकारी दिए। त्यस्तै, पाँच हजार ७२८ थान राहदानी सेवाग्राहीको घरघरमै हुलाकमार्फत वितरण गरिएको उनले बताए।

मन्त्री पोखरेलका अनुसार कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएका कम्पनीहरूको स्थायी लेखा नम्बर (प्यान) अब सेवाग्राहीले ‘केमिस’ प्रणालीमार्फत सम्बन्धित वेबसाइटबाट आफैँ डाउनलोड गर्न सक्ने व्यवस्था गरिएको छ।

यस्तै, सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइमा पनि उल्लेखनीय प्रगति भएको सरकारको दाबी छ। हालसम्म ३० लाख ७५ हजार १८१ थान लाइसेन्स छपाइ सम्पन्न भइसकेको र असार मसान्तसम्म थप २९ लाख लाइसेन्स छाप्ने लक्ष्य रहेको मन्त्री पोखरेलले जानकारी दिए।

सरकारले ३२ जिल्लामा एकद्वार सेवा प्रणाली सञ्चालनका लागि आवश्यक बजेट व्यवस्थापन गरिसकेको समेत जनाएको छ।

“हुलाकमार्फत घरघरमा सवारीचालक अनुमतिपत्र र राहदानी वितरण सुरु गरिसकेका छौँ। कम्पनी दर्तादेखि प्रमाणपत्र प्राप्तिसम्मका सेवाहरूलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा लैजाने प्रक्रिया अघि बढाइएको छ,” मन्त्री पोखरेलले भने।

उनका अनुसार सरकारी कार्यालयहरूमा जीआईओएमएस प्रणाली लागू गरिएको छ, जसले कुनै पनि फाइल कुन शाखामा, कुन अवस्थामा र कसको जिम्मेवारीमा छ भन्ने जानकारी सेवाग्राहीले रियल टाइममै प्राप्त गर्न सक्नेछन्। साथै, अमिन सेवाका लागि अनलाइन अपोइन्टमेन्ट प्रणालीसमेत सञ्चालनमा ल्याइएको सरकारको दाबी छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP