लुम्बिनी ।नेकपा एमाले लुम्बिनी प्रदेशस्तरीय समीक्षा बैठकमा पार्टी नेतृत्व, विशेषगरी अध्यक्ष केपी शर्मा ओलीको भूमिकामाथि तीव्र बहस भएको छ। कपिलवस्तुको चन्द्रौटामा आयोजित प्रदेशस्तरीय सुझाव संकलन तथा समीक्षा भेलामा सहभागी अधिकांश नेताहरूले अध्यक्ष ओलीले तत्काल नेतृत्व हस्तान्तरण गर्दै मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका छन्।
भेलामा तीनवटा प्रमुख धार स्पष्ट रूपमा देखिएका थिए। पहिलो धारले अध्यक्ष ओलीले तत्काल राजीनामा दिएर नयाँ नेतृत्वका लागि मार्ग खुला गर्नुपर्नेमा जोड दियो। दोस्रो धारले पछिल्लो निर्वाचनमा भएको लज्जास्पद पराजयको जिम्मेवारी नेतृत्व तहले सामूहिक रूपमा लिनुपर्ने मत राख्यो। तेस्रो धारले भने केन्द्रदेखि जिल्ला तहसम्मका सबै नेतृत्व तहले पराजयको जिम्मेवारी वहन गर्नुपर्ने तर्क प्रस्तुत गर्यो।
प्रदेशस्तरीय समीक्षा तथा सुझाव संकलन कार्यक्रममा उपाध्यक्ष रामबहादुर थापा, विष्णु पौडेल, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेलसहित प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, जिल्ला कमिटीका पदाधिकारी तथा विभिन्न तहका नेताहरूको सहभागिता रहेको थियो। भेलाको अध्यक्षता लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले गरेका थिए।
केन्द्रीय सदस्य खिमलाल भट्टराई, गोमा आचार्य, ज्ञानु केसी, जलिल मियाँ, राजन आचार्य, सरिता भुसाललगायत नेताहरूले अध्यक्ष ओलीले नेतृत्वबाट बाहिरिँदै पार्टीलाई नयाँ सन्देश दिनुपर्ने धारणा राखेका थिए। उनीहरूको पक्षमा रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, प्युठान, रोल्पा तथा नवलपरासी पश्चिमका जिल्ला नेतृत्वले समेत समर्थन जनाएको बताइएको छ।
यता, नेता प्रदीप ज्ञवालीसहित केही नेताहरूले भने पराजयको सम्पूर्ण दोष अध्यक्ष ओलीमाथि मात्रै थोपर्न नहुने धारणा व्यक्त गरे। उनीहरूले निर्वाचन परिणामका लागि सम्पूर्ण नेतृत्व पंक्ति जिम्मेवार रहेको भन्दै सामूहिक उत्तरदायित्वको पक्षमा आफ्नो मत राखे। उनीहरूले पार्टीका सबै तहका नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने र आगामी रणनीति तय गर्नुपर्नेमा जोड दिएका थिए।
अर्कोतर्फ केही नेताहरूले अध्यक्ष ओलीको बचाउ गर्दै पार्टीभित्र व्यापक सुधार आवश्यक रहेको तर्क गरेका थिए। उनीहरूले अध्यक्ष परिवर्तन मात्र समाधान नभई केन्द्रदेखि तल्लो तहसम्म नेतृत्व संरचनामा पुनरावलोकन आवश्यक रहेको बताएका थिए।
भेलामा सहभागी धेरै नेताहरूले भदौ २३ गतेको राजनीतिक घटनाक्रमपछि तत्कालीन प्रधानमन्त्री ओलीले समयमै राजीनामा दिएको भए त्यसपछिका घटनाक्रम र राजनीतिक क्षति टार्न सकिने दाबी गरे। उनीहरूका अनुसार त्यसैको प्रभावस्वरूप एमालेले पछिल्लो निर्वाचनमा अपेक्षाविपरीत परिणाम भोग्नुपरेको हो।
यसैबीच उद्घाटन सत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका अध्यक्ष ओलीले पद नछाड्ने र सुझावको आवश्यकता नरहेको आशय व्यक्त गरेको भन्दै भेलामा सहभागी नेताहरूले असन्तुष्टि जनाएका थिए।
सचिवालयले गठन गरेको कार्यदलको औचित्यमाथि अध्यक्ष स्वयंले प्रश्न उठाएकोप्रति समेत सहभागीहरूले आपत्ति प्रकट गरेका थिए।
भेलामा एक सहभागीले आफ्नै अध्यक्षतामा बसेको सचिवालय बैठकको निर्णयलाई स्वीकार नगर्ने नेतृत्वले नैतिक जिम्मेवारीसहित पद त्याग गर्नुपर्ने टिप्पणी गरेका थिए। अधिकांश सहभागीहरूले नेतृत्व परिवर्तनमा थप ढिलाइ भए पार्टीको राजनीतिक भविष्य थप जटिल बन्न सक्ने चेतावनीसमेत दिएका थिए।
लुम्बिनी प्रदेश समीक्षा बैठकबाट देखिएको नेतृत्व परिवर्तनको मागले एमालेभित्रको आन्तरिक बहस र असन्तुष्टिलाई थप सतहमा ल्याएको छ। आगामी केन्द्रीय समीक्षा बैठक र पार्टीका निर्णय प्रक्रियामा यसले महत्वपूर्ण प्रभाव पार्ने अनुमान गरिएको छ।
सुनसरी । सुनसरीको हरिनगर क्षेत्रमा दुई समुदायबीच तनाव उत्पन्न भई झडप भएपछि जिल्ला प्रशासन कार्यालयले ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!