होल्डिङ सेन्टर खाली गर्न सुकुमवासीलाई थप एक साताको म्याद, २५ हजार लिएर स्वव्यवस्थापन गर्न आग्रह

होल्डिङ सेन्टर खाली गर्न सुकुमवासीलाई थप एक साताको म्याद, २५ हजार लिएर स्वव्यवस्थापन गर्न आग्रह

सरकारले होल्डिङ सेन्टरमा बसोबास गरिरहेका सुकुमवासी परिवारलाई त्यहाँबाट बाहिरिन थप एक साताको समय दिएको छ। यसअघि असार १२ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिइएकोमा अब असार १९ गतेसम्मको समयसीमा तोकिएको हो।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार सूचना जारी गर्दै घरभाडा तथा वैकल्पिक व्यवस्थापनका लागि समय कम भएको गुनासो आएपछि म्याद थप गरिएको जनाएको छ।

समितिका अनुसार होल्डिङ सेन्टरमा रहेका परिवारलाई स्वव्यवस्थापनका लागि प्रोत्साहनस्वरूप आर्थिक सहायता उपलब्ध गराइनेछ। त्यसका लागि सम्बन्धित व्यक्तिलाई असार १५ गतेभित्र दशरथ रंगशालामा उपस्थित भई बैंक खाता नम्बर सहित निवेदन पेश गर्न आग्रह गरिएको छ।

सरकारले गत वैशाखमा काठमाडौं उपत्यकाका नदी किनारमा रहेका अव्यवस्थित बस्ती हटाएपछि प्रभावित परिवारको विवरण संकलन गरी विभिन्न होल्डिङ सेन्टरमा अस्थायी रूपमा राखेको थियो। ती परिवारमध्ये केहीले आफैं वैकल्पिक बसोबासको व्यवस्था गरिसकेका छन् भने सयौं परिवार अझै होल्डिङ सेन्टरमै रहेका छन्।

यता, सरोकारवाला र प्रभावित परिवारहरूले स्थायी व्यवस्थापनबिना नगद सहायता दिएर मात्रै होल्डिङ सेन्टर खाली गराउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूले सुरक्षित आवासको सुनिश्चितता नगरी हटाउन खोजिए आफूहरू पुन: पुरानै स्थानमा फर्किन बाध्य हुने चेतावनी दिएका छन्।

सरकार र प्रभावित पक्षबीच दीर्घकालीन पुनर्वास तथा बसोबास व्यवस्थापनको विषयमा सहमति खोज्ने प्रयास जारी रहेको जनाइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP