काठमाडौं । मनसुनसँगै डेङ्गी संक्रमणको जोखिम बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले डेङ्गी नियन्त्रण तथा रोकथामका लागि व्यापक अभियान सञ्चालन गर्ने भएको छ । महानगरले यस वर्ष १६ सय ५० जना तालिमप्राप्त जनशक्ति परिचालन गर्दै ‘लार्भा खोज र नष्ट गर’ अभियानलाई वडा–वडासम्म विस्तार गर्ने तयारी गरेको हो।
महानगरको स्वास्थ्य विभागले स्वास्थ्य प्रवर्धन केन्द्रका प्रमुख तथा स्वास्थ्यकर्मीलाई क्षमता अभिवृद्धि तालिम दिँदै अभियानको पहिलो चरण असारभित्रै सुरु गर्ने योजना बनाएको छ। तालिम प्राप्त स्वास्थ्यकर्मीहरूले प्रत्येक वडामा थप ५० जनासम्म स्वयंसेवकलाई प्रशिक्षण दिनेछन्।
अभियानमा महिला स्वास्थ्य स्वयंसेविका, टोल सुधार समिति, आमा समूह, स्थानीय क्लब तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूलाई सहभागी गराइनेछ। तालिमपछि उनीहरूलाई वडाका विभिन्न क्षेत्रमा परिचालन गरी डेङ्गी सार्ने लामखुट्टेका लार्भा खोज्ने र नष्ट गर्ने कार्य गरिनेछ।
स्वास्थ्य विभागका प्रमुख दिपककुमार केसीले डेङ्गी नियन्त्रणमा समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउँदै व्यक्ति र परिवारस्तरको जिम्मेवारीबाट मात्रै रोग नियन्त्रणमा सफलता हासिल गर्न सकिने उल्लेख गरे।
महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुषालका अनुसार विगतका अनुभव र सिकाइलाई आधार बनाएर यस वर्षको अभियानलाई थप प्रभावकारी बनाइनेछ। समुदायस्तरमै जनचेतना फैलाउँदै घरघरमा रोग नियन्त्रणका प्रयास पुर्याउने लक्ष्य लिइएको उनले बताए।
स्वास्थ्य विज्ञहरूका अनुसार डेङ्गी फैलाउने एडिस जातको लामखुट्टे सफा र जमेको पानीमा हुर्किने भएकाले घर वरपरका गमला, टायर, पानीका भाँडा, कौसी तथा खाल्डाखुल्डीमा पानी जम्न नदिन विशेष सावधानी अपनाउनुपर्ने हुन्छ।
मनसुन सुरु भएसँगै साउनदेखि डेङ्गी संक्रमण बढ्ने र कार्तिक–मंसिरमा उच्च जोखिम देखिने भएकाले अहिलेदेखि नै सतर्कता अपनाउन महानगरले आग्रह गरेको छ। समयमै नियन्त्रणका उपाय अपनाउन सके अघिल्ला वर्षको तुलनामा यस वर्ष संक्रमणदर घटाउन सकिने विश्वास स्वास्थ्यकर्मीहरूले व्यक्त गरेका छन्।
नयाँ दिल्ली । राष्ट्रिय योग्यता तथा प्रवेश परीक्षा (नीट) को प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर देशव्या ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!