आजदेखि रास्वपाको प्रथम महाधिवेशन, रवि–बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने

आजदेखि रास्वपाको प्रथम महाधिवेशन, रवि–बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन, विधान संशोधन तथा भावी राजनीतिक रणनीति तय गर्ने उद्देश्यसहित आयोजना गरिएको महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको छ ।

भरतपुरस्थित गेष्टहाउस चौरमा हुने महाधिवेशनका लागि आवश्यक तयारी लगभग पूरा भएको रास्वपा प्रवक्ता मनिष झाले बताएका छन् । उद्घाटन समारोहस्थललाई रवि लामिछाने र बालेन शाहका तस्वीरसहित सजाइएको छ भने प्रतिनिधि व्यवस्थापन, आवास, यातायात र सुरक्षा व्यवस्थासमेत टुंग्याइएको पार्टीले जनाएको छ ।

रास्वपाका अनुसार महाधिवेशनमा देशभरबाट चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । प्रतिनिधि छनोटको काम लगभग सकिएको र राजनीतिक, आर्थिक, सांगठनिक तथा विधानसम्बन्धी प्रतिवेदनहरू तयार भइसकेको प्रवक्ता झाले जानकारी दिए ।

महाधिवेशनमा पार्टीको संगठनात्मक संरचनामा व्यापक परिवर्तन गर्ने प्रस्ताव प्रस्तुत गरिने भएको छ । संशोधित विधानअनुसार हालको १२१ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गरेर १५१ सदस्यीय बनाइने प्रस्ताव छ । प्रदेश सभापतिहरूलाई पदेन केन्द्रीय सदस्य बनाउने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।

त्यस्तै, पदाधिकारी तहमा महिला सहभागिता सुनिश्चित गर्न उपसभापति, सहमहामन्त्री, सहप्रवक्ता र सहकोषाध्यक्ष पदमा कम्तीमा एक–एक जना महिला अनिवार्य रहने व्यवस्था विधानमा समेटिएको छ ।

रास्वपाले पहिलो महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनसँगै संगठनात्मक संरचना पुनर्गठन गर्ने तयारी गरेको छ । पार्टीको आगामी राजनीतिक कार्यदिशा तय गर्ने भएकाले महाधिवेशनलाई रास्वपाको अहिलेसम्मकै महत्वपूर्ण राजनीतिक कार्यक्रमका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP