निर्वाचन प्रचारप्रसारका लागि अनिवार्य बैंक खाता खोल्न आयोगको निर्देशन

निर्वाचन प्रचारप्रसारका लागि अनिवार्य बैंक खाता खोल्न आयोगको निर्देशन

काठमाडौं,माघ २१- निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारका लागि अनिवार्य रूपमा बैंक खाता खोलेर मात्र कारोबार गर्न निर्देशन दिएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बुधबार जारी गरेको विज्ञप्तिअनुसार आयोगको मंगलबारको बैठकले निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ स्वीकृत गरी लागू गरिसकेको छ। सोही कार्यविधि अनुसार सबै दल र उम्मेदवारले छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था गरिएको हो। कार्यविधि आयोगको आधिकारिक वेबसाइटमा पनि अपलोड गरिएको छ।

आयोगले यस प्रयोजनका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई आवश्यक निर्देशन दिइसकेको जनाएको छ। निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित सबै आम्दानी र खर्च अब सोही खातामार्फत मात्र गर्नुपर्नेछ।

विज्ञप्तिमा उल्लेख भएअनुसार निर्वाचन आयोग ऐन, २०७३ को दफा ५० बमोजिम निर्वाचन खर्चलाई पारदर्शी बनाउन बैंकिङ प्रणालीमा आबद्ध गराउने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो। राजनीतिक दलले निर्वाचन आयोगको सचिवालयमार्फत र उम्मेदवारले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमार्फत बैंक खाता खोल्न सिफारिस पाउनेछन्।

आयोगले मातहतका निर्वाचन कार्यालय तथा बैंक तथा वित्तीय संस्थालाई कार्यविधि कार्यान्वयनमा सहजीकरण गर्न पनि निर्देशन दिएको छ। साथै निर्वाचन प्रचारप्रसार खर्चलाई आधुनिक बैंकिङ प्रणालीसँग जोड्ने यो प्रयासलाई सफल बनाउन सबै पक्षबाट सहयोग र समन्वयको अपेक्षा गरिएको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP