नेपाल–यूएई व्यापारमा नयाँ गति: दूतावास, FNCCI र शारजाह च्याम्बरबीच उच्चस्तरीय वार्ता

शारजाह, जनवरी ७ – नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच व्यापार, लगानी र पर्यटन सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित उच्चस्तरीय भेटघाट सम्पन्न भएको छ। अबुधाबीस्थित नेपालका महामहिम राजदूत तेज बहादुर क्षेत्री, नेपाल उद्योग परिसंघ (FNCCI) का अध्यक्ष चन्द्रप्रसाद ढकाल र शारजाह च्याम्बर अफ कमर्सका अध्यक्ष अब्दुल्लाह सुल्तान अल ओवैसबीच शारजाहस्थित च्याम्बर कार्यालयमा भेटघाट भएको हो।

भेटघाटमा नेपाल–यूएईबीचको आर्थिक सहकार्य विस्तार, लगानी प्रवर्द्धन, पर्यटन विकास तथा द्विपक्षीय व्यापारका सम्भावनाहरूबारे केन्द्रित छलफल भएको थियो। विशेषगरी नेपाली उत्पादनहरूलाई यूएई बजारमा पहुँच दिलाउने उपाय, व्यापारिक साझेदारी विस्तार र निजी क्षेत्रबीच सहकार्य बढाउने विषयमा गहन विचार–विमर्श गरिएको नेपाली दूतावासले जनाएको छ।

सो अवसरमा राजदूत क्षेत्रीले नेपालमा लगानीका सम्भावना, औद्योगिक विकास, कृषि तथा पर्यटन क्षेत्रका अवसरबारे जानकारी गराउँदै दुवै देशबीचको आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको बताए। उनले यूएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वानसमेत गरे।

FNCCI अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाली निजी क्षेत्र र यूएईका व्यापारिक संस्थाबीच सहकार्यलाई थप मजबुत बनाउने आवश्यकता औंल्याउँदै FNCCI यसका लागि सहजीकरण गर्न तयार रहेको बताए। उनले व्यापारिक प्रतिनिधिमण्डल आदान–प्रदान र संयुक्त कार्यक्रममार्फत साझेदारी विस्तार गर्न सकिने धारणा राखे।

शारजाह च्याम्बरका अध्यक्ष अब्दुल्लाह सुल्तान अल ओवैसले नेपालसँग व्यापार र लगानी सहकार्य बढाउन चासो व्यक्त गर्दै आगामी दिनमा नयाँ अवसरहरूको खोजीमा सहकार्य गर्न इच्छुक रहेको बताए।

भेटघाटका क्रममा नेपाली दूतावास, FNCCI र शारजाह च्याम्बरबीच आपसी समन्वय बढाउँदै व्यापार, लगानी र पर्यटन क्षेत्रमा सहयोगात्मक पहललाई तीव्रता दिने सहमति भएको छ। उक्त भेटलाई नेपाल–यूएई आर्थिक सम्बन्धलाई नयाँ गति दिने महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

कोशीमा सिट गणितको लडाइँ तीव्र: एमाले बहुमतको दाबीमा, कांग्रेस आन्तरिक चिन्तामा
2 घण्टा अघि

विराटनगर१५ माघ - २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये नेकपा एम ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP