मनोहर माविमा अवैध शिक्षक नियुक्ति प्रकरण : अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दर्ता

काठमाडौं । टोखा नगरपालिका–१०, गोंगबुस्थित श्री मनोहर माध्यमिक विद्यालयमा प्रचलित कानून विपरीत अयोग्य व्यक्तिलाई उच्च माध्यमिक तहको शिक्षक पदमा नियुक्ति गरिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता  गरेको छ।

आयोगका अनुसार विद्यालयका तत्कालीन प्रधानाध्यापक (प्राचार्य) बासुदेव अधिकारी र शिक्षिका कल्पना पनेरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ बमोजिम मुद्दा दायर गरिएको हो।

अनुसन्धानका क्रममा प्रतिवादी कल्पना पनेरु उच्च माध्यमिक तह शिक्षक नियुक्तिका लागि तोकिएको उमेर हद (२१ देखि ४० वर्ष) नाघिसकेकी भए पनि मिलेमतो र योजनामा नियुक्ति दिइएको पुष्टि भएको आयोगले जनाएको छ। निजको जन्ममिति वि.सं. २०३२/०८/०७ रहेको र विज्ञापन प्रकाशित मिति २०७२/१०/१४ सम्ममा उमेर ४० वर्ष २ महिना ७ दिन पुगेको देखिएको छ।

अख्तियारका अनुसार अस्थायी प्राथमिक शिक्षकका रूपमा कार्यरत पनेरुलाई नियमित अभ्यासविपरीत काज सरुवा गरिएको, विद्यालय व्यवस्थापन समितिको निर्णय पुस्तिकामा टिपेक्स लगाई केरमेट तथा थपघट गरिएको, सरकारी अभिलेखमा रहने कागजातहरू सच्याई नक्कली तथा गलत लिखत तयार गरिएको पाइएको छ। सोही निर्णयका आधारमा फरक–फरक लेटरहेड र विवरण भएका नियुक्ति पत्र जारी गरिएको तथा चलानी किताबसमेत केरमेट गरिएको आयोगको दाबी छ।

यसरी सामुदायिक उच्च माध्यमिक तह शिक्षक व्यवस्थापन निर्देशिका, २०७१ (संशोधन सहित) को दुरुपयोग गरी अयोग्य व्यक्तिलाई शिक्षक पदमा नियुक्ति दिई राज्य कोषको दुरुपयोग गरिएको निष्कर्षसहित आयोगले दुवै प्रतिवादीलाई कैद र जरिवानाको सजाय मागदाबी गरेको छ।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार भ्रष्टाचारसम्बन्धी कसुर पुष्टि भएकाले आइतबार विशेष अदालतमा औपचारिक रूपमा आरोपपत्र दायर गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

कमला डाइभर्सनमा कुलमानको स्पष्ट भनाइ
3 घण्टा अघि

काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP