काठमाडौँ,पुस १२ — नेपाल पोलिमर इन्स्टिच्युट (NPI) र नेसनल इन्स्टिच्युट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी (NIET) को संयुक्त आयोजनामा ललितपुरको कुपोन्डोलस्थित NIET परिसरमा आयोजित दुई दिने १० औँ ‘योङ साइन्टिस्ट समिट–२०२५’ (YSS-2025) भव्य रूपमा सम्पन्न भएको छ। डिसेम्बर २६ र २७ तारिखमा सञ्चालन भएको यस समिटले देशभरका कक्षा ८ देखि १२ सम्म अध्ययनरत प्रतिभाशाली विद्यार्थीहरूलाई आफ्नो अनुसन्धान, आविष्कार र नवप्रवर्तन प्रस्तुत गर्ने साझा मञ्च प्रदान गरेको थियो।
सन् २०१६ देखि निरन्तर आयोजना हुँदै आएको ‘यङ साइन्टिस्ट समिट’ ले नेपाली युवा पुस्तामा वैज्ञानिक सोच, सिर्जनशीलता र अनुसन्धान संस्कृतिको विकास गर्दै आएको कार्यक्रमका अध्यक्ष प्रा. डा. रामेश्वर अधिकारीले बताए। उनका अनुसार, यो अभियानको मुख्य उद्देश्य युवालाई विज्ञान र प्रविधितर्फ आकर्षित गर्दै दीर्घकालीन रूपमा राष्ट्रिय समृद्धिमा योगदान पुर्याउने जनशक्ति उत्पादन गर्नु हो।
समिटमा सहभागी विद्यार्थीहरूलाई पाँच विभिन्न विधामा विभाजन गरी उनीहरूले प्रस्तुत गरेका परियोजना, अनुसन्धान र प्रविधिको विज्ञ निर्णायक टोलीद्वारा मूल्याङ्कन गरिएको थियो। वातावरण संरक्षण, स्थानीय ज्ञानको प्रयोग, कृत्रिम बुद्धिमत्ता, जैविक प्लास्टिक तथा प्रविधिमैत्री समाधानजस्ता विषयमा आधारित परियोजनाले यस वर्षको समिटलाई थप अर्थपूर्ण बनाएको आयोजकको भनाइ छ।
केमिकल एण्ड इन्भ्यारोमेन्टल साइन्स (CES) विधातर्फ ‘द एक्सेल्सियर स्कुल’, स्वयम्भू, काठमाडौँका आशिमा भट्टराई र रितीशा तिवारीले घरायसी फोहोरबाट जैविक रूपमा सड्ने झोला बनाउने परियोजना प्रस्तुत गर्दै प्रथम स्थान हासिल गरे। उनीहरूको परियोजनाले बढ्दो प्लास्टिक प्रदूषण न्यूनीकरणमा योगदान पुर्याउन सक्ने सम्भावना देखाएको निर्णायकहरूले बताएका छन्।
कम्प्युटर साइन्स तथा आर्टिफिसियल इन्टेलिजेन्स (CSAI) विधामा एञ्जेल्स हार्ट सेकेन्डरी स्कुल, मनमैजुका प्रमिश अधिकारी र मनिया परियारले निर्माण गरेको ‘नीलम: द सेफ्टी हेल्मेट’ ले प्रथम पुरस्कार जित्न सफल भयो। स्मार्ट प्रविधिको प्रयोगमार्फत दुर्घटना न्यूनीकरण र सुरक्षामा सहयोग पुर्याउने यो परियोजनाले सबैको ध्यान तानेको थियो।
इन्डिजेनियस नलेज एण्ड लोकल टेक्नोलोजी (IKLT) विधातर्फ अर्बाना स्कुल अफ साइन्स, पुतली सडकका संवृद्धि राज्यलक्ष्मी शाह र आराधना यादवले ‘सिस्नुको फाइटोकेमिकल प्रोफाइल र एन्टि–माइक्रोबियल प्रभाव’ सम्बन्धी अनुसन्धान प्रस्तुत गर्दै स्वर्ण पदक जिते। स्थानीय जडीबुटीको वैज्ञानिक अध्ययनमार्फत औषधीय सम्भावना उजागर गरेको यो अनुसन्धानलाई विशेष महत्वका साथ हेरिएको थियो।
लाइफ साइन्स (LS) विधामा युनिग्लोब एसएस/कलेज, कमलादीका आहाना गुरुङ र कुसुम राणाले केराको बोक्राबाट जैविक प्लास्टिक बनाउने परियोजनाका लागि प्रथम स्थान प्राप्त गरे। कृषि फोहोरको पुनः प्रयोगमार्फत वातावरणमैत्री विकल्प प्रस्तुत गरेको भन्दै निर्णायकहरूले परियोजनाको प्रशंसा गरेका थिए।
त्यसैगरी फिजिकल साइन्स, म्याथमेटिक्स, इन्जिनियरिङ एण्ड रोबोटिक्स (PSMER) विधातर्फ ल्याब्रोटोरी सेकेन्डरी स्कुल, कीर्तिपुरका रामकृष्ण न्यौपाने र युक्ता लेखकले अर्डुइनोमा आधारित आरएफआईडी (RFID) प्रविधि प्रयोग गरी स्वचालित ढोका नियन्त्रण प्रणाली विकास गरी प्रथम स्थान हात पारे।
यस समिटका सबै विधाका प्रथम विजेताहरूले सन् २०२६ मा थाइल्याण्डमा आयोजना हुने ‘एसिया प्यासिफिक कन्फ्रेन्स अफ यङ साइन्टिस्ट’ (APCYS–2026) मा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने अवसर पाउने आयोजकले जनाएको छ।
अन्तर्राष्ट्रिय स्तरमा नेपाली विद्यार्थीहरूको प्रतिभा प्रस्तुत हुने भएकाले यो अवसर उनीहरूका लागि ठूलो उपलब्धि हुने अपेक्षा गरिएको छ।
पूर्व विज्ञान तथा प्रविधि मन्त्री ई. गणेश शाह संरक्षक रहनुभएको यस समिटमा राष्ट्रिय आविष्कार केन्द्रसहित विभिन्न शैक्षिक तथा अनुसन्धान संस्थाहरूको सहकार्य रहेको थियो। सहभागी विद्यार्थी, अभिभावक तथा शिक्षकहरूले यस्ता कार्यक्रमले नेपालमा विज्ञान र प्रविधिको भविष्य उज्ज्वल रहेको स्पष्ट सङ्केत दिएको प्रतिक्रिया दिएका छन्।
काठमाडौँ — माघ-१२ नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज आफ्नो निर्वाचन क्षेत्र सर्लाही&nda ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!