काठमाडौँ पुस ७— जेन–जी आन्दोलनको दबाबमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठन भएको सरकारले १०१ दिन पूरा गरेको छ । ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन गराउने मुख्य म्यान्डेटसहित बनेको सरकारले आफ्नो आधा कार्यकाल पार गरिसकेको छ । यस अवधिमा निर्वाचनतर्फ मुलुकलाई डोर्याउने तयारी भए पनि भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनामा अपेक्षाअनुसार उपलब्धि हासिल गर्न नसकेको गुनासो बढ्न थालेको छ ।
जेन–जी आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै २७ भदौमा कार्की प्रधानमन्त्री नियुक्त भएकी थिइन् । नियुक्ति पाएकै दिन उनले प्रतिनिधिसभा विघटनको सिफारिस गर्दै २१ फागुनका लागि आम निर्वाचन घोषणा गरेकी थिइन् । त्यसपछि सार्वजनिक गरिएको निर्वाचन तालिकाअनुसार राजनीतिक दल दर्ताको प्रक्रिया सम्पन्न भइसकेको छ । मन्त्रिपरिषद्, सम्बन्धित मन्त्रालय, सुरक्षा निकाय र निर्वाचन आयोग निर्वाचन तयारीमा जुटिरहेका छन् ।
तर निर्वाचन प्रक्रियामा सरकार प्रमुख राजनीतिक दलहरूलाई विश्वासमा लिन असफल देखिएको छ ।
कांग्रेस, एमाले, नेपाल कम्युनिस्ट पार्टीलगायत मुख्य दलका शीर्ष नेतासँग निर्वाचनबारे औपचारिक संवाद सुरु हुन सकेको छैन । निर्वाचनमा जाने तयारीमा रहेका दलहरूले समेत अनुकूल वातावरण बनाउन नसकेको भन्दै सरकारको आलोचना गर्न थालेका छन् ।
यहीबीच कांग्रेस र एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । यसले निर्वाचनको भविष्य अदालतको निर्णयसँग जोडिएको छ ।
सरकारले जेन–जी आन्दोलनका मुद्दालाई प्राथमिकतामा राखेको दाबी गरे पनि जेन–जी समूह स्वयं सरकारप्रति पूर्ण विश्वस्त देखिँदैन ।
निर्वाचनको मोडालिटी र समयबारे जेन–जी अगुवाबाट फरक–फरक धारणा सार्वजनिक भइरहेका छन् । समूहले आफ्ना मागहरू राख्दै पटक–पटक प्रदर्शनसमेत गरिरहेको छ ।
विशेषगरी भ्रष्टाचार नियन्त्रण र सुशासनको सवालमा सरकारले ठोस परिणाम देखाउन नसकेको आलोचना सुरु भएको छ । जेन–जी आन्दोलनमा सक्रिय युवाहरूले केही सकारात्मक संकेत देखिए पनि भ्रष्टाचारविरुद्ध अपेक्षित कदम नचालिएको बताएका छन् । संविधानविद्, पूर्वप्रशासक र मानवअधिकारकर्मीहरू पनि सरकारको कार्यसम्पादनप्रति सन्तुष्ट देखिँदैनन् ।
सरकारको बाँकी कार्यकालमा निर्वाचनको विश्वसनीयता, राजनीतिक सहमति र सुशासनका सवाल मुख्य चुनौतीका रूपमा उभिएका छन् ।
काठमाडौं १५ माघ -। लेखा तथा व्यवसाय क्षेत्र तीव्र रूपमा डिजिटल रूपान्तरणको चरणमा प्रवेश गरिरहेको ...

प्रतिक्रिया