जेनजी समूहको आजदेखि विरोध प्रदर्शन, माइतीघरमा ११ बजेदेखि शान्तिपूर्ण आन्दोलन

काठमाडौं पुस ७- सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले आजदेखि विरोध प्रदर्शन सुरु गर्ने भएको छ। जेनजी समूहका अनुसार बिहान ११ बजेदेखि माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरिनेछ।

आन्दोलनबारे जेनजीका अगुवा मिराज ढुंगानाले सरकारसँग असन्तुष्टि पुरानै रहेको र मागहरू सुरुआती दिनदेखि स्पष्ट रहँदै आएको बताए। “हामी कोही कसैबाट परिचालित भएका छैनौँ। हाम्रा माग फेरिएका छैनन्। आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण हुन्छ,” ढुंगानाले भने।
आफैँले बनाएको सरकारले जेनजीका माग र मुद्दाहरू ‘अपहरण’ गरेको आरोप लगाउँदै विभिन्न जेनजी समूहहरूले प्रधानमन्त्रीको कार्यकाल १०० दिन पुगेकै दिन आन्दोलनको घोषणा गरेका हुन्। 

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले १०० दिनमा देखाएको कार्यसम्पादन असफल भएको निष्कर्षसहित आन्दोलनमा उत्रिने तयारी गरिएको जेनजी समूहको भनाइ छ।

प्रधानमन्त्रीको राजीनामा माग गर्दै गरिखान देउ, जेनजी मुभमेन्ट नेपाल, जेनजी नेसनल फ्रन्ट, जेनजी स्पार्क, एन–टेक जेनजी, जेनजी पार्लियामेन्ट, जीबीबी समूह, जेवाईएन समूह, जेनजी युनाइटेड, स्वतन्त्र जेनजी नेपाल र डिजिटल टास्कफोर्स जेनजी समूह लगायत ३० भन्दा बढी जेनजी समूह आन्दोलनमा सहभागी हुने जनाइएको छ। यस्तै, अल–नेसन जेनजी, जेनजी एकता मञ्च र समता जेनजी पनि प्रधानमन्त्रीको राजीनामा माग्ने समूहमा छन्।
विभिन्न जेनजी समूहहरूको संयोजकमा मिराज ढुंगानालाई तोकिएको छ। ढुंगाना गरिखान देउ अभियानका संयोजकसमेत हुन्। 

उनले सरकार ‘हाइज्याक’ भएको आरोप लगाउँदै जेनजीका माग पूरा नगरी अघि बढाइएको चुनावी प्रवृत्तिको विरोधमा आन्दोलन थालिएको बताए। “सरकार अपहरण भएको छ। भोलिदेखि सुरु हुने आन्दोलनको अग्रपंक्तिमा म आफैँ खटिन्छु,” ढुंगानाले भने।

उनका अनुसार वर्तमान सरकारले भदौ २३ र २४ गते भएको आन्दोलनको मर्मसमेत नबुझेको जेनजी समूहको निष्कर्ष छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Recent Posts

छुटाउनुभयो कि ?

TOP