पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं पुष १-नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाईका प्रमुख बिनेश मुनंकर्मीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले मुनंकर्मीले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको ठहर गर्दै सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

अख्तियारका अनुसार मुनंकर्मीले २०५४ साल फागुन १ गतेदेखि सार्वजनिक पदमा वहाल रही २०८० मंसिर १४ गतेसम्मको अवधिमा आर्जन गरेको आय र गरेको खर्चको विश्लेषण गर्दा कुल आयभन्दा खर्च उल्लेख्य रूपमा बढी देखिएको छ। अनुसन्धानमा मुनंकर्मी तथा उनका एकाघर परिवारले कानूनी रूपमा आर्जन गरेको कुल आय रु. ३ करोड ७३ लाख ८१ हजार ४४४ रुपैयाँ २० पैसा देखिएको छ।

उक्त अवधिमा जग्गा खरिद, घर निर्माण, शेयर तथा सवारी साधन खरिद, सुनका गरगहना, बीमा प्रिमियम, अध्ययन शुल्क, ऋण भुक्तानी, व्यवसाय/कम्पनीमा लगानी, बैंक तथा सहकारी खातामा मौज्दात, नगद, मुद्दती खाता तथा विदेशी मुद्रा रूपान्तरणसमेत गरी कुल खर्च रु. ६ करोड २४ लाख १५ हजार ९६१ रुपैयाँ ३९ पैसा भएको अख्तियारले जनाएको छ।

यसरी कुल आयभन्दा कुल खर्च रु. २ करोड ५० लाख ३४ हजार ५१७ रुपैयाँ १९ पैसाले बढी भई स्रोत पुष्टि हुन नसकेको अख्तियारको निष्कर्ष छ। आयोगका अनुसार उक्त रकम बराबरको गैरकानूनी सम्पत्ति मुनंकर्मीले आर्जन गरेको देखिएको, पेस गरिएको सम्पत्ति विवरण अस्वाभाविक र अमिल्दो रहेको तथा वैधानिक आयको तुलनामा उच्च जीवनशैली यापन गरेको प्रमाणित भएको छ।

अख्तियारले सार्वजनिक सेवाको पदमा रहँदा अख्तियारको दुरुपयोग गरी मुनंकर्मीले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी श्रीमती पूर्ण केशरी गोसाईको नाममा समेत सम्पत्ति खरिद गरेको दाबी गरेको छ। आयोगले मुनंकर्मी र उनकी श्रीमती गोसाईविरुद्ध सम्बन्धित कानुनबमोजिम सजायको मागदाबी लिई विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रधानमन्त्रीद्वारा मकर सङ्क्रान्तिको शुभकामना
2 महिना अगाडि

काठमाडौँ,माघ १ — प्रधानमन्त्री सुशीला कार्कीले माघी तथा मकर सङ्क्रान्ति पर्वको अवसरमा स्वदेश त ...

छुटाउनुभयो कि ?

TOP