काठमाडौँ ,माघ १- नेपाली कांग्रेसको राजनीतिमा यतिखेर अभूतपूर्व तरंग पैदा भएको छ। लामो समयदेखि शेरबहादुर देउवाको नेतृत्वमा थला परेको, कार्यकर्तामा निराशा र आक्रोश भरिएको कांग्रेसले अन्ततः नयाँ जीवन पाएको छ। विशेष महाधिवेशनबाट गगन कुमार थापाको सभापतित्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएसँगै कांग्रेसमा ‘नयाँ युग’ सुरु भएको ठानिएको छ।
अनवरत रूपमा पार्टीलाई निजी स्वार्थ र सीमित घेराभित्र कैद गरेको आरोप खेप्दै आएका देउवाबाट कांग्रेसलाई मुक्त गराउन गगन थापा र विश्वप्रकाश शर्माले देखाएको आँट र हिम्मत निर्णायक बनेको छ। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गर्दै विशेष महाधिवेशन गरेपछि कांग्रेस विधानअनुसार प्रक्रिया अघि बढेको थियो।
विधानले ४० प्रतिशत प्रतिनिधिको मागमै विशेष महाधिवेशन अनिवार्य हुने व्यवस्था गरेकामा यहाँ त स्पष्ट बहुमतसहित नेतृत्व, नीति र दिशा नै परिवर्तन भएको छ।
विशेष महाधिवेशनले गगन थापा सभापति रहने गरी नयाँ केन्द्रीय कार्यसमिति चयन गरिसकेको छ। यससँगै देउवा पक्षले गगन–विश्वमाथि गरेका सबै कारबाही महाधिवेशनबाट उल्टाइएका छन्।
देउवा नेतृत्वले गरेका विवादास्पद र कार्यकर्ताविरोधी निर्णयहरू एकपछि अर्को गर्दै खारेज गरिएको छ। पार्टीलाई ‘प्राइभेट लिमिटेड’ शैलीमा चलाइएको आरोप लागिरहेका बेला अब कांग्रेस फेरि नेपाली जनताको पार्टी बन्ने दिशामा अघि बढेको सन्देश गएको छ।
आम कांग्रेस कार्यकर्ताले लामो समयपछि उकुसमुकुसबाट मुक्त भएको अनुभूति गरेका छन्। गाउँ–टोल, बस्ती–बस्तीमा समाजसेवा र जनसम्पर्कलाई केन्द्रमा राखेर पार्टीलाई पुनःजागृत गर्ने नयाँ नेतृत्वको घोषणाले कार्यकर्तामा उत्साह छाएको छ। तीन–तीन पटकसम्म कांग्रेस फुटाउन अग्रसर भएको आरोप लाग्दै आएका देउवाबाट पार्टी जोगाएको श्रेय गगन थापालाई दिन थालिएको छ।
विशेष महाधिवेशनसम्बन्धी सम्पूर्ण विवरण निर्वाचन आयोगमा औपचारिक रूपमा बुझाइसकिएको छ। त्यसैले अब कांग्रेसको आधिकारिक सभापति र केन्द्रीय समिति गगन थापाको नेतृत्व नै भएको दाबी गरिएको छ। केही दिनमै निर्वाचन आयोगले महाधिवेशनका निर्णयलाई वैधानिकता दिने विश्वास नयाँ नेतृत्वले व्यक्त गरेको छ।
फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारलाई टिकट दिने, हस्ताक्षर गर्ने र पार्टीको आधिकारिक छाप प्रयोग गर्ने अधिकार अब गगन नेतृत्वकै हातमा रहने स्पष्ट सन्देश प्रवाह भएको छ। परिवर्तन नचाहने देउवा र उनी निकटका नेताहरूलाई अब नयाँ टिमसँग सहकार्य गर्न वा राजनीतिक रूपमा एक्लिनुपर्ने अवस्था आएको छ।
राजाले प्रधानमन्त्री बनाउँदा असक्षम ठहर गर्दै बर्खास्त गरिएका देउवालाई यसपटक आम कांग्रेस कार्यकर्ताले नै राजनीतिक रूपमा बर्खास्त गरेको टिप्पणी व्यापक छ।
प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्दै आएको कांग्रेसलाई कमजोर बनाएको आरोप खेपिरहेका देउवाको भूमिकामाथि अब गम्भीर प्रश्न उठेको छ—अब देउवा के गर्लान्?
एकातिर कांग्रेस कार्यकर्ता र शुभेच्छुकमा नयाँ खुशी र आशाको सञ्चार भएको छ भने अर्कोतिर नेपाली राजनीतिमा यो परिवर्तनले ठूलो तरंग ल्याएको छ। चारतारे झण्डा र रुख चिन्ह अब गगन–विश्वको टिमसँगै अघि बढ्ने निश्चितजस्तै देखिएको छ। समय साँच्चिकै बदलिएको छ, र त्यसको केन्द्रमा कांग्रेसको ऐतिहासिक परिवर्तन उभिएको छ।
काठमाडौँ,माघ-१४, जनकपुरधाम बारामा धारिलो हतियार प्रहार गरी आमा–छोराको हत्या भएको छ भने बुवासहि ...

प्रतिक्रिया