चार देशका नेपाली राजदूतको राजीनामा

काठमाडौं,कार्तिक २६- सरकारले परराष्ट्र मन्त्रालयमा हाजिर गर्नेगरी बोलाएका ११ जना राजदूतमध्ये चारजनाले राजीनामा दिएका छन् । उनीहरूले परराष्ट्र मन्त्रालयमा औपचारिक रूपमा आफ्नो राजीनामा बुझाएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार, बेलायतका लागि राजदूत चन्द्रकुमार घिमिरे, चीनका लागि राजदूत कृष्णप्रसाद ओली, कतारका लागि राजदूत रमेशचन्द्र पौडेल र अमेरिकाका लागि राजदूत लोकदर्शन रेग्मीले पदबाट राजीनामा दिएका हुन् ।

परराष्ट्र मन्त्रीको हैसियतमा प्रधानमन्त्री सुशीला कार्कीले कात्तिक १७ गते ११ देशका नेपाली राजदूतलाई कात्तिक २० गतेभित्र परराष्ट्र मन्त्रालयमा रही कामकाज गर्न बोलाउने निर्णय गरेकी थिइन् ।

प्रधानमन्त्री कार्कीले बोलाएका राजदूतहरूमा कृष्णप्रसाद ओली (चीन), शाहिल रुपाखेती (जर्मनी), दुर्गाबहादुर सुवेदी (जापान), धनप्रसाद पण्डित (इजरायल), नेत्रप्रसाद तिम्सिना (मलेसिया), रमेशचन्द्र पौडेल (कतार), जंगबहादुर चौहान (रुस), डा. नरेशविक्रम ढकाल (साउदी अरेबिया), चन्द्रकुमार घिमिरे (बेलायत), लोकदर्शन रेग्मी (अमेरिका) र शनिल नेपाल (स्पेन) थिए । यीमध्ये दुर्गाबहादुर सुवेदी परराष्ट्र सेवाबाट अवकाश प्राप्त सहसचिव हुन् भने बाँकी सबै राजनीतिक कोटामा नियुक्त भएका थिए ।

रुसका लागि राजदूत जंगबहादुर चौहान भने बिरामीका कारण रुसमै रहेका छन् । बाँकी सबै राजदूत नेपाल फर्किसकेका छन् ।

असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले एकसाथ ११ देशमा कार्यरत नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । जेनजी आन्दोलनपछि बनेको कार्की नेतृत्वको सरकारले राजनीतिक कोटामा रहेका राजदूतलाई फिर्ता बोलाउने नीति लिएको थियो ।

तर, मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि अदालतले कात्तिक १६ गते उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि प्रधानमन्त्री कार्कीले ११ राजदूतलाई परराष्ट्र मन्त्रालयमा रही कामकाज गर्न बोलाएकी थिइन् ।

त्यसमध्ये अहिले चारजनाले राजीनामा दिएका छन् भने बाँकी सातजना राजदूत परराष्ट्रमा हाजिर भइरहेका छन् । उनीहरू राजनीतिक कोटाबाट नियुक्त भएकाले हाल कुनै जिम्मेवारी दिइएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

उपकरण जडान द्रुतरूपमा
3 बर्ष अगाडि

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...

छुटाउनुभयो कि ?

TOP