काठमाडौं, कार्तिक २४ — जिल्ला डोल्पा, त्रिपुरासुन्दरी नगरपालिकामा मोटरबाटो स्तरोन्नतीको ठेक्का प्रक्रिया मिलेमतोमा सम्पन्न गरी आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ जना व्यक्तिसहित एक निर्माण कम्पनीविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार, आ.व. २०७८/०७९ मा वडा नं. ५ स्थित खदाङ–ल्हाँ मोटरबाटो स्तरोन्नतीका लागि रु. ८३ लाख ८२ हजार ९९८ रुपैयाँ ८२ पैसा लागत अनुमान गरिएको थियो। सो ठेक्का प्रक्रियामा सात वटा बोलपत्र प्राप्त भए पनि मूल्याङ्कन समितिले नियमानुसार नचल्दै दिव्या निर्माण सेवा प्रा.लि. लाई ठेक्का दिएको पाइएको छ।
अनुसन्धानका क्रममा समितिले अन्य बोलपत्रदातालाई नागरिकता प्रतिलिपि नपेश गरेको लगायतका कारण देखाई अस्वीकृत गरेको तर दिव्या निर्माणले पनि सोही कागजात नपेश गर्दा समेत उत्तीर्ण गराइएको पाइएको हो। साथै, दिव्या निर्माण सेवा र कृष्ण निर्माण सेवा दुबै कम्पनीका बोलपत्र कागजातहरूमा समान हस्ताक्षर, मिति र फर्म्याट भेटिएको अख्तियारले जनाएको छ।
न्यूनतम रकम कबोल गर्ने कृष्ण निर्माण सेवालाई अस्वीकृत गरी बढी रकम कबोल गर्ने दिव्या निर्माणलाई ठेक्का दिइएकाले रु. ५५ लाख ८९ हजार ६३ रुपैयाँ ६ पैसा बराबरको आर्थिक हानि भएको आयोगको दाबी छ।
मुद्दामा त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल, इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिराचन्द्र धराला, शिक्षा अधिकृत भिमबहादुर थापा, वरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा, MIS अपरेटर हरिचन्द्र बिष्ट, बोलपत्र मूल्याङ्कन समितिका सदस्य तथा NCCSP प्रोजेक्टका इन्जिनियर शिशिरकुमार गुरुङ, दिव्या निर्माण सेवा प्रा.लि. र कम्पनीका प्रो. भीमराज न्यौपाने रहेका छन्।
अख्तियारले सबै प्रतिवादीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम बिगो बराबर जरिवाना र कैद सजाय माग गरेको छ। साथै, गलत प्रतिवेदन दिने अधिकारीहरूमाथि सोही ऐनको दफा १९(२) बमोजिम थप सजाय माग गरिएको छ।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, मुद्दा दायरसँगै विशेष अदालतबाट प्रक्रिया अघि बढ्नेछ।
काठमाडौँ, मंसिर २४ — टोखा नगरपालिका वडा नं. ६ स्थित १२ रोपनी सार्वजनिक जग्गामा निर्माण हुने सा ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!