जेन–जी बिद्रोह : पुराना दलहरूको पापको परिणाम

काठमाडौ,कार्तिक २१-नेपालमा नागरिकको सहनशीलता अब अन्तिम सीमासम्म पुगेको छ। ठूला राजनीतिक दलहरूको अकर्मण्यता, भ्रष्टाचार र सत्ता–लोभले देशलाई थकाइ र जनतालाई निराशाले भरिदिएको छ। यही निराशा र अन्यायविरुद्धको आक्रोशबाट जन्म भयो— जेन–जी बिद्रोह।

गणतन्त्रको सपना बोकेर बनेका तीन तहका सरकारहरू आज भ्रष्टाचार र कुसासनको दलदलमा डुबेका छन्। जनताको करबाट चल्ने राज्य संयन्त्र नातावाद र कृपावादको ठेक्कामा बिकेको छ। सरकारी कर्मचारीहरू नेताका बफादार र भ्रष्टाचारका अनुयायीमा परिणत भएका छन्। नियुक्ति र सरुवामा करोडौंको डिल हुने देशमा न्याय, शिक्षा र स्वास्थ्य किन्ने वस्तु बनेका छन्।

पत्रकारहरूले प्रमाणसहित सत्य उजागर गरे, जनताले सडकदेखि सामाजिक सञ्जालसम्म आवाज उठाए— तर सत्ताधारीहरूको कानमा त्यो आवाज पुगेन। बरु उनीहरू अझ अहंकारी, क्रूर र जनविरोधी बने। बिचौलिया र दलालहरूको स्वर्ग बनेको देशमा आम नागरिकको जीवन नर्कझैं बनेको छ। राज्यका स्रोत र साधन लुटिए, देश खरानीमा परिणत भयो— तर शासकहरू अझै पनि “हामी नै देश बनाउने हो” भन्दै मस्त छन्।

“राजनीतिक एकता” भन्ने नारा अहिले नेताहरूको नयाँ मुखौटा बनेको छ। तर, आफ्नै पार्टीभित्र एकता छैन; जनतासँग त झन् दूरी झनै बढेको छ। एकले अर्कालाई खुइलाउने, झुटा मुद्दा र आरोप लगाउने पुरानै चलन फेरि दोहोरिएको छ।

चुनाव आउँछ, नारा फिजाइन्छ, भ्रम बेचिन्छ। फेरि ठूला दल सत्तामा पुग्छन्। अनि फेरि जनताले घाममा उभिनुपर्ने, लाइनमा बस्नुपर्ने, अस्पतालमा बेवास्ता सहनुपर्ने अवस्था दोहोरिन्छ। यो चक्रव्यूह तोड्न खोज्नेहरूलाई अपमान र असहयोग मात्र पाइन्छ।

हजारौं निहत्था जनताले ज्यान गुमाए, लाखौं घाइते भए— तर नेताहरू अझै पनि सत्ताको खेलमा रमाइरहेका छन्। प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका नारा अब जनताको अधिकार होइन, नेताहरूको ढाल बनेका छन्।

जनताले पाए के? बोल्ने र लेख्ने स्वतन्त्रता त छ, तर बाँच्ने स्वतन्त्रता अझै छैन।शिक्षा, स्वास्थ्य र रोजगारी— तीनै आधार संकटग्रस्त छन्। कृषि प्रधान देशमा किसान ऋणको बोझले मर्छन्, रोजगारीको खोजीमा युवाहरू आत्मदाह गर्न बाध्य हुन्छन्। रेमिट्यान्स र विदेशी ऋणको भरमा देश त टिकेको छ, तर नेताहरूको मोजमस्ती बढेको छ।

यो अवस्था किन आयो? किनकि दलहरूले न देश सिके, न जनताको पीडा बुझ्न सके। उनीहरू विदेशी शक्ति केन्द्रको इसारामा चल्ने, स्वार्थ पुरा नभए सत्तोसराप गर्ने पात्र बने। देशको सार्वभौम सत्ता र जनताको भरोसा— दुबै उनीहरूले खेलौना बनाए।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

उपकरण जडान द्रुतरूपमा
3 बर्ष अगाडि

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...

छुटाउनुभयो कि ?

TOP