भारत पुगेका पुटिनलाई मोदीद्वारा रुसी भाषामा अनुदित ‘गीताको प्रति’ उपहार

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुईदिने भारत भ्रमणका लागि बिहीबार साँझ नयाँ दिल्ली पुगेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई रुसी भाषामा अनुदित भगवद्गीता को एक विशेष प्रति उपहार दिएका छन्। मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिंदै गीताको शिक्षाले विश्वभरका लाखौँ मानिसलाई प्रेरणा दिएको उल्लेख गरेका छन्।

पुटिन सातजना मन्त्रीसहित उच्चस्तरीय प्रतिनिधिमण्डल लिएर भारत आएका हुन्। उनीहरूलाई स्वागत गर्न प्रधानमन्त्री मोदी स्वयं विमानस्थल पुगेका थिए। दुबै नेताले अङ्गालो हालेर अभिवादन गरे र एउटै गाडीमा प्रधानमन्त्री निवासतर्फ प्रस्थान गरे।

पुटिनको यो भ्रमण मोदीको निमन्त्रणामा आयोजित २३औँ भारत–रुस वार्षिक शिखर सम्मेलन को अवसरमा भएको हो। दुई नेताबीच आजै दुईवटा महत्वपूर्ण बैठक तय भएको छ, जसमध्ये एक बन्द कोठामा हुनेछ। भेटवार्तामा रक्षा सहयोग सुदृढीकरण, द्विपक्षीय व्यापारलाई बाह्य दबाबबाट सुरक्षित गर्ने तथा साना मोड्युलर रिएक्टर (SMR) मा साझेदारी प्रमुख एजेन्डा हुने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

आज बिहान राष्ट्रपति भवनमा पुटिनलाई राजकीय सम्मान दिइयो। त्यसपछि उनी राजघाट पुगे र महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गरे। हैदराबाद हाउसमा आयोजित शिखर सम्मेलनमा भारत–रुसबीच २५ भन्दा बढी सम्झौताहरूमा हस्ताक्षर हुने सम्भावना छ।

आज साँझ दुवै नेताहरूले भारत–रुस व्यापारिक फोरमलाई सम्बोधन गर्ने छन्। सोही रात भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले पुटिनको सम्मानमा राजकीय रात्रिभोज आयोजना गर्ने कार्यक्रम छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Recent Posts

छुटाउनुभयो कि ?

TOP