काठमाडौ मङ्सिर १९-लमजुङको बेसीशहर–२, भकुण्डेमा पूर्व प्रहरी हवलदार सीता कँडेलको सामूहिक हत्या प्रकरणमा १२ वर्षदेखि फरार रहेका मुख्य अभियुक्त बुद्धिराम दराई पक्राउ परेका छन्। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले विशेष अपरेसनमार्फत रूपन्देहीको सिद्धार्थनगर–१, बेलहिया क्षेत्रमा उनलाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ।
२०७८ साल चैत ३१ गते बिहान करिब ३:३० बजे घरबाहिर ताल्चा लागेको र भित्रबाट दुर्गन्ध फैलिन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। ढोका फोडेर प्रवेश गरेको प्रहरीले सुत्ने कोठाको बक्स–पलङ मुनि त्रिपालमा बेरिएको अवस्थामा सीता कँडेलको शव फेला पारेको थियो। घटना रहस्यमय र जघन्य प्रकृतिको देखिएपछि CIB ले विशेष टोली खटाएर अनुसन्धान अघि बढाएको थियो।
प्राविधिक विश्लेषण र स्थलगत अनुसन्धानले चितवन रत्ननगर–६का ४७ वर्षीय बुद्धिराम दराई घटनामा प्रत्यक्ष संलग्न रहेको पुष्टि गरेपछि उनलाई खोजतलास जारी राखिएको थियो। अदालतबाट पक्राउ पुर्जी जारी भए पनि दराई लामो समयसम्म फरार रहेका थिए। अन्ततः २०८२ मंसिर १८ गते CIB को टोलीले बुटवल–बेलहिया सडक खण्डमा उनलाई चिन्होट गर्दै नियन्त्रणमा लिन सफल भएको हो।
पक्राउ परेका दराईलाई आवश्यक कारबाहीका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको CIB ले जनाएको छ।
२०६७ मंसिर १३ गते गोरखा फिनाम–५की ५३ वर्षीया चिनीमाया पाण्डेलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा उनलाई गोरखा जिल्ला अदालतले २०६८ असार २० गते सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो। भीमफेद कारागारमा सजाय भोगिरहेको समयमा दराईको मृतक सीता कँडेलसँग परिचय भएको तथ्य पनि प्रहरीले पुष्टि गरेको छ।
CIB का प्रवक्ता वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठको हस्ताक्षरमा जारी विज्ञप्तिमा १२ वर्षदेखि फरार रहेका मुख्य अभियुक्तलाई पक्राउ गर्न सहयोग पुर्याउने सबैलाई धन्यवाद व्यक्त गरिएको छ।
प्रहरीका अनुसार दराईको पक्राउसँगै सीता कँडेल हत्या प्रकरण अब कानुनीरूपमा निष्कर्षतर्फ अघि बढ्नेछ।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...
प्रतिक्रिया