काठमाडौँ भदौ २५-करिब १० घण्टादेखि जारी जेन–जी भर्चुअल बैठकमा सर्वमान्य नेताको खोजी तीव्र रूपमा भइरहेको छ। बैठकमा सहभागी समूहका अनुसार, नयाँ नेतृत्वबारे देशभरको ध्यान केन्द्रित भइरहेको छ। जेन–जीका अनुसार, अहिलेको संवेदनशील परिस्थितिमा सबैलाई स्वीकार्य हुने व्यक्तित्व खोज्ने क्रममा विभिन्न नामहरूमाथि छलफल भइरहेकाे छ।
बैठकमा सहभागी सागर ढकालले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आफ्नाे सर्कलमा गरिएको अनलाइन सर्वेक्षणमा ९५ प्रतिशत समर्थन प्राप्त भएको बताएका छन्। अघिल्लो सर्वेक्षणभन्दा ३ हजार बढी व्यक्तिहरूले मतदान गरेको उनले उल्लेख गरे। उनका अनुसार, कार्कीको निष्पक्ष छवि र अघिल्ला कामका कारण उनीप्रति विश्वास बढ्दै गएको छ।
नेपाली सेनाले पनि जेन–जीका प्रतिनिधिलाई निरन्तर बोलाइरहँदा विभिन्न नेताहरूका विकल्पबारे छलफल भइरहेको छ। बिहानैदेखि छलफलमा जुटेका समूहले अझै उपयुक्त प्रतिनिधि भेट्न सकेका छैनन्। बैठकमा कार्कीलाई सर्वसम्मत मानिने पात्रका रूपमा अघि सारिएको भए पनि अन्य सम्भावित नामहरूबारे बहस भइरहेको छ।
तर, जेन–जीका अनुसार वैकल्पिक रूपमा सागर ढकालको नाम पनि उच्चारण भएको छ। डडेल्धुराबाट कांग्रेस सभापति शेरबहादुर देउवासँग २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेर चर्चामा आएका ढकाल हाल धनगढीमा रहेका छन्। काठमाडौं आउन यातायात अवरुद्ध हुँदा समस्या भइरहेको उनले बताएका छन्।
बैठकमा सहभागीहरूले भने, “हामीलाई देशको वर्तमान संकट पार गर्न सक्ने र सबैलाई स्वीकार्य हुने व्यक्तित्व चाहिएको छ,” भन्दै कार्की र ढकाललाई मुख्य पात्रका रूपमा हेर्न सकिने बताएका छन्। जेन–जीको यो छलफललाई नेपाली समाजले पनि नजिकबाट हेरिरहेको छ, किनभने यहाँबाट निस्कने निर्णयले आगामी नेतृत्वको दिशानिर्देशन गर्न सक्ने अपेक्षा गरिएको छ।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...
प्रतिक्रिया