पोखरा, कास्की — पोखराको चर्चित ‘लिची बगान’ जग्गा हडपप प्रकरणमा दुई पूर्वमन्त्रीसहित सात जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
बुधबार आयोगले एमाले नेता तथा पूर्वमन्त्री राजकुमार गुप्ता र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ सहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ।
यो प्रकरण कास्कीको पोखरा–बाटुलेचौरस्थित १३४ रोपनी लिची बगान जग्गा हडप्ने प्रयाससँग सम्बन्धित रहेको अख्तियारले जनाएको छ। सो जग्गा कब्जा गर्न तत्कालीन मन्त्री, कर्मचारी र बिचौलियाहरूको मिलेमतो भएको आरोप छ।
गत वर्ष ‘घूस डिल अडियो’ सार्वजनिक भएपछि तत्कालीन सामान्य प्रशासनमन्त्री गुप्ताले राजीनामा दिएका थिए। अडियोमा जग्गा दर्ता र सिफारिसको बदलामा ठूलो रकम लेनदेन भएको कुरा आएको थियो।
उक्त जग्गा मूलतः राणाकालमा बिर्ता पाएको जग्गा हो। बिर्ता उन्मूलनपछि रैकरमा परिणत हुनुपर्नेमा त्यस्तो प्रक्रिया नहुँदा जग्गा विवादित बनेको हो। पछि थकाली समुदायले लिखतका आधारमा किनमेल गरी बस्ती बसाए पनि कास्की अदालतले २०३१ र २०४० सालमा राणा वंशकी दुर्गादेवी शाह र लोकदिव्यश्वरी शाहको पक्षमा फैसला गरेको थियो।
तर, फैसला कार्यान्वयन नहुँदै ४० वर्षपछि पुनः हकदार खडा गरेर जग्गा दर्ता गर्ने प्रयास भएको पाइएको छ। अख्तियारका अनुसार बिचौलिया सुजन लामाको सक्रियतामा दुर्गादेवी शाहका नातिनातिनाका नाममा निवेदन दिई जग्गा दर्ता गरिएको थियो।
२४ माघ २०८० मा दर्ता भएको निवेदनसंगै पोखरा–१६ वडा कार्यालयमा गरिएको करारनामामा जग्गा बाँडफाँड र खर्च व्यहोर्ने पक्ष स्पष्ट उल्लेख गरिएको फेला परेको छ। उक्त करारनामाअनुसार ३३% हिस्सा गीतादेवी, सुरज र सुनील ठकुरीलाई, ४०% यमकुमारी गुरुङलाई र २७% देवबहादुर मल्ललाई दिने सम्झौता गरिएको थियो।
अख्तियारले जग्गा दर्ता प्रक्रियामा नक्कली हकदार खडा गर्ने, सरकारी स्वीकृति बिना दर्ता गराउने र भ्रष्टाचारद्वारा लाभ उठाउने प्रमाण पाएको जनाएको छ।
‘घूस डिल’ अडियोको फरेन्सिक परीक्षणले पनि मौलिकता पुष्टि गरेपछि मुद्दा दायर गरिएको अख्तियार स्रोतको भनाइ छ।
सप्तरी, कात्तिक २० – सप्तरीको छिन्मस्ता गाउँपालिका–५ लोखरम मुसहर टोलमा झाडापखालाबाट पीडि ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!