काठमाडौं भदौ २५- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले हालको अस्थिर र हिंसात्मक परिस्थिति साम्य पार्न संयम, संवाद र एकताबाट समाधान खोज्न सबै पक्षलाई अपिल गरेका छन्।
दुवै नेताहरूले जारी गरेको संयुक्त अपिलमा हालै Gen-Z युवाहरूले सुरु गरेको आन्दोलनमा ज्यान गुमाएका होनहार युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूले देशलाई शान्ति र पुनर्निर्माणको दिशामा अघि बढाउन सबैले संयमित र एकताबद्ध भएर प्रस्तुत हुनुपर्नेमा जोड दिएका छन्।
अपिलमा भदौ २३ र २४ गतेका घटनाक्रमपछि राष्ट्रपतिद्वारा वार्ता–संवादमार्फत निकास दिन सुरु गरिएको पहलको स्वागत गर्दै सबै पक्षसँग आवश्यक परामर्श गरी समाधान खोज्न आग्रह गरिएको छ। नेपाली सेना सहित सुरक्षा निकायहरूले शान्ति–सुरक्षा कायम गर्न गरिरहेका प्रयासलाई आम नागरिक, नागरिक समाज, सञ्चारजगत र अन्तर्राष्ट्रिय समुदायबाट सहयोग गर्न अपिल गरिएको छ।
दुवै नेताहरूले अत्यधिक बल प्रयोगबाट भएको मानवीय क्षतिको गम्भीर छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्। सोमबारको प्रदर्शनका दिन सरकारको ढिलाइ र सही आंकलन नहुनु मानवीय क्षति बढ्नुको कारण भएको भन्दै त्यसबाट सिंगो देश स्तब्ध र दुःखित भएको टिप्पणी गरेका छन्।
अपिलमा सिंहदरबार, शीतल निवास, संसद् भवन, सर्वोच्च अदालत लगायतमा गरिएको आगजनी, सरकारी कार्यालय, मिडिया हाउस, व्यावसायिक प्रतिष्ठानमा गरिएको तोडफोड र ध्वंसको कठोर निन्दा गरिएको छ। Gen-Z युवाहरूको स्वतःस्फूर्त आन्दोलनमा विभिन्न स्वार्थ समूह घुसपैठ गरी हिंसा, हत्या र योजनाबद्ध आगजनी गराएको बुझाइ आफूहरूको रहेको पनि उनीहरूले स्पष्ट पारेका छन्।
नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेतामाथि भएको भौतिक आक्रमणलाई दुःखद र निन्दनीय बताउँदै यस्ता घटनाको प्रष्ट शब्दमा भ्रत्सर्ना गरेका छन्। साथै, संघीय लोकतान्त्रिक गणतन्त्रमा सत्तामा पुगेकाहरूले जनअपेक्षा अनुसार काम गर्न नसकेको र नयाँ पुस्ताको चाहना समयमै बुझ्न नसकेकोमा आत्मालोचना गर्दै कांग्रेसलाई सम्पूर्ण रूपमा पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘आवेग, उत्तेजना र प्रतिशोध क्षणिक कुरा भएकाले अबको कांग्रेस आम जनताको अपेक्षा, Gen-Z युवाहरूको भावना र अन्य भिन्न पुस्ताको अभिमतलाई गाँसेर अझ सशक्त र जनउत्तरदायी दल बनेर अघि आउनेछ,’ अपिलमा भनिएको छ।
अन्त्यमा, देशलाई २०७२ को संविधानभन्दा पछि फर्कन नदिन, लोकतान्त्रिक बाटोबाटै समाधान खोज्न र सामाजिक एकता–सद्भावको चरित्रलाई बलियो रूपमा प्रस्तुत गर्न स्वदेश–विदेशमा रहेका सबै नेपाली आमाबुबा, दिदीबहिनी, दाजुभाइमा हार्दिक आह्वान गरिएको छ।
काठमाडौं, असोज १४-नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिनसम्म ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!