"अनन्त उज्यालोमा हराएको बुबाको मुख"

आज कुशेऔँसीमा,
आकाशतिर टोलाउँदा
स्मृतिको बगैँचामा तपाईँको अनुहार
अझै ताजै झल्किन्छ—
बुबा, तपाईँलाई सम्झँदा
नमिलो खालको रिक्तता हृदयमा पोखिन्छ।

तपाईँले देखाउनुभएको बाटो,
सच्चाइ र परिश्रमको शिक्षा
मेरो लागि जीवनको अस्त्र बने,
तर संघर्षको मैदानमा
जब प्रतिद्वन्दीहरूले घेरिदिए,
तपाईँको साथको खाँचो
घामझैँ पोल्ने पीडा भयो।

जीवनका उतारचढावमा
कहिले पहाडजस्तै कठिनाइ,
कहिले नदीजस्तै आँसु—
तर तपाईँको शब्द सम्झिँदा
भित्रैबाट ऊर्जा जाग्थ्यो,
"हार मान्न हुँदैन" भन्ने आवाज
स्मृतिबाटै सुनिन्थ्यो।

बुबा,
तपाईँ नहुँदा आमाले व्यहोरेको पीडा
आकाशले मात्र गनेको छ होला।
दिनभरि पसिनाले भिजेको आमाको अनुहार
र रातभरि निन्द्राविनाको चस्मा
मेरा आँखामा अंकित छन्।
तपाईँको जिम्मेवारीले उनलाई
बलियो तर दुःखी बनायो—
त्यो दृश्य देख्दा मन भक्कानिन्छ।

सफलताको पाइलामा
आज समाजले ताली बजाउँछ,
तर हरेक आवाजसँगै
तपाईँको नजर नपाइने खालीपन
छातीभित्र गुञ्जिरहन्छ।
"म अब्बल छु, सफल छु" भनेर
तपाईँको हात समाई देखाउन पाए
जीवन पूर्ण हुन्थ्यो,
तर भाग्यले त्यो अवसर चोरेर
मलाई अधुरो बनाइदियो।

सफलता भेटिएको छ केही,
तर त्यो यात्राको अन्त्य होइन।
म अझै पनि मैदानमै छु,
अझै पनि हाँफिँदै–पसीनाले भिज्दै
जीवनसँग भिडिरहेछु।
तर विश्वास छ—
तपाईँले देखाउनुभएको बाटो
मलाई विजयतर्फै पुर्‍याउनेछ।

बुबा,
तपाईँ स्वर्गलोकमा भए पनि
मेरो जीवनको दिशा
अझै पनि तपाईँकै छायाले तय गरिरहेको छ।
यो कुशेऔँसीमा,
तपाईँलाई स्मरण गर्दै
म आमाको आँसु पुछ्ने प्रतिज्ञा गर्दछु,
र समाजको प्रत्येक चुनौतीसँग
तपाईँले सिकाएको दृढताले सामना गर्ने
वाचा गर्दछु।

आज,
तपाईँको अनुहार नभए पनि
तपाईँको आत्मा मेरो जीवनमा जिउँदो छ।
यस दिन,
मेरो श्रद्धा, आँसु र प्रेमका फूलहरू
स्वर्गसम्म पुर्‍याउने आशामा
तपाईँलाई अर्पण गर्दछु—

(यस कविताका रचनाकार टोखा नगरपालिकाका शिक्षा अधिकृत खगेन्द्र सिंह धामी हुन्।)

प्रतिक्रिया

सम्बन्धित समाचार

उपकरण जडान द्रुतरूपमा
3 बर्ष अगाडि

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...

छुटाउनुभयो कि ?

TOP