पशुपति क्षेत्रमा 'नक्कली आरती उद्योग'! धर्मको नाममा ठगी, कोष मौन; सामाजिक आक्रोश उत्कर्षमा

काठमाडौं, साउन १३ —नेपालको सनातन परम्परा, आस्था र धार्मिक गौरवको केन्द्र पशुपतिनाथ मन्दिर क्षेत्र अहिले एउटा गम्भीर संकटको सामना गरिरहेको छ। धर्म, शुद्धता र सांस्कृतिक पवित्रतामाथि खुलेआम खेलवाड हुँदैछ, र राज्यको जिम्मेवार निकाय भने मौन छ।

‘नक्कली आरती उद्योग’ नामक एक यस्तो खेल चलिरहेको छ, जसको न त कुनै वैधानिकता छ, न पारदर्शिता, न जवाफदेहिता। पशुपति क्षेत्र विकास कोष अन्तर्गत कुनै अनुमति वा समझौता बिना आर्यघाटमा वर्षौंदेखि आरती कार्यक्रम सञ्चालन हुँदै आएको छ। चन्दा, टिकट, विशेष आरतीको नाममा उठाइने लाखौं रुपैयाँ कताबाट आउँछ, कहाँ जान्छ – कसैलाई जवाफ दिनु पर्दैन।

तर यो मौनता अब मूल्यविहीन छैन। सामाजिक अभियन्ता राजाराम तण्डुकारको नेतृत्वमा क्रियाशील अभियन्ता समूहले यही नक्कली धार्मिक धन्दा विरुद्ध आन्दोलनको संकेत दिएका छन्।

धार्मिक पवित्रता माथि हमला भइरहेको छ। आरती कार्यक्रमको नाममा अहिले नाचगान, डम्फु, बासुरी, चर्को ध्वनि र आयोजकहरूको व्यापारिक बर्चस्व चलिरहेको छ। वैदिक परम्परा अनुसार आरती एक आत्मशुद्धिको आध्यात्मिक प्रक्रिया हो, तर अहिले पशुपतिमा त्यो तमाशा, मनोरञ्जन र व्यापारको रंगमञ्च बनेको छ।

एक वैदिक गुरु भन्छन् –
“आरतीमा माइक, बाजा र भीड होइन – ध्यान, स्तुति र साधना हुनु पर्थ्यो। अहिले पशुपति क्षेत्र एक सस्तो मेलामा परिणत भएको छ।”

धार्मिक स्थानमा शोक र श्रद्धा लिने ठाउँमा अहिले रमाइलोको चर्को ध्वनि बजिरहेको छ। आर्यघाटमा अन्त्येष्टि गर्न आउने मलामीहरू आफ्नो पीडा शान्त वातावरणमा पोख्न सक्दैनन्।

एक  मलामी भन्छन् –
“बाबुको सतगत गर्न आएका थियौं, आरतीको नाचगान र चर्को ध्वनिले हामीलाई थप पीडामा डुबायो।”

पशुपति क्षेत्र विकास कोष जस्तो संवैधानिक निकायले यसबारे कुनै कारबाही नगर्नु, मौन बस्नु र उल्टै अर्को ढोका (पश्चिम गेट) बाट नयाँ आरती कार्यक्रम सुरु हुनु आफैंमा गम्भीर प्रश्नको विषय हो।

अभियन्ताहरूको स्पष्ट आरोप छ –
“कोषको मौनता मतलब कोषकै संरक्षणमा यो धन्दा चलेको छ। यो नक्कली धर्ममाथि कोषको संलग्नता प्रमाणित गर्न पर्याप्त छ।”

निमित्त सदस्य सचिव शुभाष चन्द्र जोशीले सामाजिक दबाबपछि कार्यक्रम बन्द गर्ने मौखिक प्रतिबद्धता त जनाएका छन्, तर कार्यान्वयन नहुनु थप शंका उत्पन्न गराउने काम भइरहेको छ।

अभियन्ताहरूको भनाइमा –
“धर्मको नाममा खुलेआम व्यापार भइरहेको छ। पैसा, टिकट, ‘विशेष आरती’को नाममा ठगी, र त्यसबाट उठेको रकम कहाँ जान्छ भन्ने कुनै लेखाजोखा छैन। यस्तो अनियमितता अब सह्य छैन।”

धार्मिक क्रियाकलापहरूको लेखापरीक्षण र अनुमतिका लागि बनेको कोष स्वयं मौन छ भने त्यो संस्था आफूले बचाउने भनेको धर्मकै हत्यामा संलग्न भएको देखिन्छ।

अब यो विषय केवल ‘आरती’को रहँदैन। यो विषय धर्म, नैतिकता, पारदर्शिता र आस्थाको हकको हो। अभियन्ताहरू अब कानुनी, राजनीतिक र सामाजिक तहमा व्यापक दबाब अभियान सञ्चालन गर्न लागिपरेका छन्।

राजाराम तण्डुकार भन्छन् –
“यदि तत्काल बन्द नगरे, हामी सडकमा निस्कन्छौं, अदालत पुग्छौं, प्रशासनको ढोका ढकढक्याउँछौं। धर्मको नाममा माफिया शासन हुँदैन।”

पशुपतिनाथ क्षेत्र केवल मन्दिर होइन – यो नेपाली सनातन धर्म, संस्कार, परम्परा र गौरवको केन्द्र हो। यहाँ कुनै पनि किसिमको नक्कलीपन, व्यापार, चन्दा धन्दा, र ध्वनि प्रदूषणको स्थान छैन।

अब मौन रहने समय छैन। सत्य, धर्म र न्यायको पक्षमा उभिनु पर्दछ। धर्मको नाममा चलाइएको ठगी, व्यापार र राजनीतिक संरक्षणलाई अन्त्य गर्नु अहिलेको आवश्यकता हो। स्थानीयहरुले यसरी आक्रोश व्यक्त गरेकाछन।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP