तीजको भीडमै शीतलताको स्पर्श : पशुपतिनाथमा पहिलोपटक कृत्रिम वर्षा

भदौ १० को बिहान। सहर अझै पूर्णतया नउठ्दै, तर पशुपतिनाथ मन्दिर परिसर भने रातो पहिरन र हरियो चुराको झिलिमिलीले रङ्गिएको थियो। रातभर व्रत बसेका हजारौं महिलाहरू, सिन्दुर टिकाले भरिएको निधार, मनमा श्रद्धा र अधरमा भक्ति बोकेर पशुपतिनाथतर्फ आकर्षित भएका थिए।

धूपको गन्ध, मन्त्रपाठको स्वर, आरतीको धुन अनि नजिकै सुनिने गीत–संगीतले वातावरणलाई अझै पावन बनाइरहेको थियो। तर, यो वर्षको तीज केही फरक थियो—पहिलोपटक पशुपति क्षेत्रमा कृत्रिम वर्षा।

काठमाडौँकी भक्तजन मञ्जु शर्मा पनि हजारौं श्रद्धालुमध्ये एक थिइन्। लाममा उभिँदा घामको तापले शरीर पोलिरहेको थियो। वरिपरि चुइचुइ गर्दै उभिएका दिदीबहिनीहरूको अनुहारमा थकान स्पष्ट देखिन्थ्यो। त्यही बेला, अचानक पानीका छरछराले टाउकोदेखि काँधसम्म भिजाए। सुरुमा अचम्म लाग्यो, तर क्षणभरमै त्यो पानीले तिर्खा र थकान मात्र होइन, हृदयमै रहेको चाप पनि धोएर लगेझैँ लाग्यो। कतै हाँसो, कतै चकित अनुहार—सबैको अनुभव एउटै थियो, शीतलताको।

काठमाडौँकी अर्की भक्तजन सिता अधिकारी भन्छिन्, “घाममा लामो समय उभिनु पथ्र्यो भन्ने थाहा थियो, तर पानीको थोपा आएपछि शरीर र मन दुवै शीतल भयो। यो अनुभव साँच्चिकै अविस्मरणीय रह्यो।”

त्यस्तै भक्त गणेश थापा ले भने, “यो वर्षको व्यवस्थापन साँच्चै उत्कृष्ट थियो। सुरक्षा, लामको व्यवस्था र कृत्रिम वर्षाले गर्दा दर्शनमा कुनै झमेलो भएन। म आजसम्म यस्तो सुव्यवस्थित तीज पहिले कहिल्यै देखिनँ।”

कोषका निमित्त सदस्यसचिव सुभासचन्द्र जोशी भन्छन्, “यसपालि भक्तजनलाई सहज दर्शन गराउन मन्दिरका चारै ढोका बिहान ३ बजेबाटै खुला गरिएको हो।” साँच्चै, ३ बजेदेखि नै लाममा बसेका श्रद्धालुहरूलाई व्यवस्थापन गर्न सजिलो भएको थियो। मञ्जु, सिता र गणेशले पनि केही मिनेटमै आराध्यदेवको दर्शन गरेर फर्किन सके।

वरिपरि करिब तीन हजार सुरक्षाकर्मी खटिएका देखिन्थे। कतै पानी बोकेर तत्पर स्वास्थ्यकर्मी, कतै भीडलाई मिलाउँदै उभिएका प्रहरी। लामलाई बाहिरैदेखि व्यवस्थित पारिएको थियो। श्रीयन्त्र पूजाको समयमा त मूल मन्दिर प्रवेशमै जाली राखिएको थियो, जसले गर्दा पनि भीडबीच धकेलाधकेलको अनुभव भएन।

तीज भनेको केवल व्रत र पूजा मात्र होइन, रंगीन पोशाक, गीत–संगीत र उमंगको मेलो हो। नाचगानमा रमाइरहेका दिदीबहिनीहरूको हाँसोले मन्दिर परिसरलाई जीवन्त बनाइरहेको थियो। तर, यसपटक त्यो जीवन्ततामा थपिएको एउटा नयाँ रंग थियो—कृत्रिम वर्षा।

कोषकी सूचना अधिकारी अनिता भट्टका अनुसार, “यसपालि मूल मूर्तिअघि दर्शन गरेर भक्तजन बाहिरिने एकतर्फी व्यवस्था मिलाइएको छ। कृत्रिम वर्षाले त भीडभाडमै शीतलता ल्याएको छ।”

मञ्जु, सिता र गणेशका लागि त्यो पानीका थोपा बरदानझैं लागे। घाम, भीड, धुलो र थकाइबीच अचानक प्राप्त भएको त्यो शीतलता केवल शरीरमै सीमित भएन, भित्रैको आत्मालाई पनि स्पर्श गर्‍यो।

यसरी, कृत्रिम वर्षा, सहज दर्शन, बलियो सुरक्षा संयन्त्र र व्यवस्थित व्यवस्थापनसँगै यो वर्षको तीज अहिलेसम्मकै ऐतिहासिक बन्यो। श्रद्धा, भक्ति र शीतलताको यस्तो संगम अबको तीज व्यवस्थापनमा एउटा नयाँ अध्याय बन्ने निश्चित छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP