काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) नतिजा सार्वजनिक गर्दा काठमाडौं जिल्लाको टोखा नगरपालिका दोस्रो स्थानमा पर्न सफल भएको छ ।
टोखाले ८५.२५ अंक प्राप्त गरी दोस्रो स्थान सुरक्षित गरेको हो । यो क्रममा काठमाडौंकै नागार्जुन नगरपालिकाले ८६.५० अंक ल्याएर पहिलो स्थान हासिल गरेकोछ । राजधानीमै प्रतिस्पर्धी रहेका यी दुई नगरपालिकाबीच १.२५ अंकको मात्र अन्तर रहनुले टोखाको संस्थागत क्षमता, कार्यसम्पादन र समग्र व्यवस्थापनमा उल्लेखनीय प्रगति भएको स्पष्ट भएको छ ।
टोखा नगरपालिकाले प्राप्त गरेको यो सफलता सहज वा आकस्मिक होइन । नगर प्रमुख प्रकाश अधिकारीको दीर्घकालीन सोच, स्थानीय जनप्रतिनिधिहरुको इमानदार प्रतिबद्धता, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीको अहोरात्रको मेहनत र नगरवासीको सक्रिय सहभागिताको संयुक्त परिणामस्वरूप टोखा यस स्तरमा पुग्न सफल भएको हो ।
दोस्रो स्थानमा पुगेको खुशियाली बाँड्दै मेयर अधिकारीले यो उपलब्धि सम्पूर्ण टोखावासीलाई समर्पण गरेका छन् । “यो सफलता हाम्रो नगरवासीको विश्वास, सहकार्य र सक्रिय सहभागिताको कारण सम्भव भएको हो । सबै जनप्रतिनिधि, कर्मचारी, सामाजिक अभियन्ता र नागरिकलाई धन्यवाद छ । यो हाम्रो साझा जित हो,” मेयर अधिकारीले भनेका छन् ।
उनले अझै प्रभावकारी कार्यक्रम, पारदर्शी प्रशासन र दीर्घकालीन योजनाबाट आगामी मूल्याङ्कनमा पहिलो स्थान हासिल गर्ने आत्मविश्वास पनि व्यक्त गरेका छन् ।
यस उपलब्धिमा महत्वपूर्ण योगदान पुर्याएका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले पनि खुसी व्यक्त गरेका छन् । उनले भने, “टोखाले छोटो समयमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । यो जनप्रतिनिधि, कर्मचारी र नागरिकबीचको सहकार्यकै नतिजा हो । भविष्यमा अझै योजनाबद्ध ढंगले काम गर्न सके टोखा देशकै उत्कृष्ट उदाहरण बन्न सक्छ ।”
टोखाले पछिल्ला वर्षहरूमा आधारभूत पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण व्यवस्थापन, सुशासन, बजेट पारदर्शिता र डिजिटल प्रणालीको प्रयोगमा ठोस सुधार ल्याएको छ । सेवाप्रवाहमा देखिएको सहजता र नागरिकमैत्री कार्यक्रमहरूले पनि नगरको मूल्याङ्कनमा प्रत्यक्ष योगदान पुर्याएको मन्त्रालयको मूल्याङ्कन प्रतिवेदनमा उल्लेख छ ।
नगरपालिकातर्फ उत्कृष्ट ठहरिने अन्य स्थानीय तहमा चितवनको खैरहनी नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र धादिङको नीलकण्ठ नगरपालिका परेका छन् । गाउँपालिकातर्फ भने स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका, धादिङको बेनीघाट रोराङ गाउँपालिका र गुल्मीको रुरु क्षेत्र गाउँपालिका उत्कृष्ट घोषित भएका छन् ।
लिसा मूल्याङ्कन प्रत्येक वर्ष स्थानीय तहको कार्यप्रक्रिया, उपलब्धि र विकास व्यवस्थापनलाई नाप्ने उद्देश्यले सञ्चालन हुँदै आएको छ । यसले सुधारका क्षेत्र पहिचान गर्ने, स्थानीय तहबीच स्वस्थ प्रतिस्पर्धा बढाउने र पारदर्शी सुशासनलाई प्रोत्साहन गर्ने काम गर्दछ ।
टोखाले यसपटक काठमाडौ जिल्लामा दोस्रो स्थानमा पाउनु मात्र होइन, आगामी वर्षहरूमा अझै उत्कृष्ट परिणाम ल्याउने सम्भावनाको संकेतसमेत गरेको छ । यसले राजधानीकै नगरहरूबीच प्रतिस्पर्धालाई अझ कडा बनाउने र समग्र स्थानीय शासन प्रणालीलाई बलियो बनाउन योगदान गर्ने अपेक्षा गरिएको छ ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया