चर्चामा
माडी, चितवन, साउन ९ – बिनासूचना पटक–पटक विद्युत् आपूर्ति अवरुद्ध भएकोप्रति आक्रोशित स्थानीय युवाहरूले चितवनको माडीस्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा आज तालाबन्दी गरेका छन्।
अत्यधिक गर्मी र विद्युत् आपूर्तिको अस्वाभाविक अनियमितताले जनजीवन प्रभावित भइरहेका बेला प्राधिकरणले गुनासो बेवास्ता गर्दै आएको भन्दै स्थानीय युवाहरू बिहानैदेखि कार्यालयमा धर्ना दिँदै तालाबन्दीमा उत्रिएका हुन्।
तालाबन्दीको नेतृत्व गरेका स्थानीय युवा अगुवा रवि भुर्तेलले भने, “पछिल्ला दिनहरूमा सूचना नदिई बारम्बार विद्युत् काटिँदै आएको छ। पढाइ, साना व्यवसाय, अनलाइन सेवा र दैनन्दिन जीवनमा यसले प्रत्यक्ष असर गरेको छ। पटक–पटक आग्रह गर्दा पनि प्राधिकरणले चासो नदिएपछि हामी तालाबन्दी गर्न बाध्य भयौं।”
तालाबन्दीका क्रममा युवाहरूले समस्याको तत्काल समाधान नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन्। उनीहरूले “लोडसेडिङ बन्द गर”, “जनतालाई अन्धकारमा नपुर्याऊ”, “प्राधिकरणको बेवास्ता बन्द गर” भन्ने नारा लगाएका थिए।
उता, नेपाल विद्युत् प्राधिकरण माडी प्रशाखाका प्रमुखले समस्याको जानकारी उच्च निकायमा गराइसकेको र समाधानका लागि पहल भइरहेको प्रतिक्रिया दिएका छन्। उनका अनुसार लाइन स्तरोन्नति र उपकरण मर्मतका कारण अस्थायी रूपमा विद्युत् सेवा प्रभावित भएको हो।
युवाहरूको तालाबन्दीका कारण आज दिनभर कार्यालयको नियमित सेवा ठप्प रह्यो। स्थानीय जनप्रतिनिधिहरूले पनि विद्युत् आपूर्ति नियमित गर्न प्राधिकरणसँग तत्काल पहल गर्न आग्रह गरेका छन्।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया