कर्तव्यपथमा अविचलित रहन सशस्त्र प्रहरीलाई महानिरीक्षक अर्यालको निर्देशन

रुपन्देही भदौ ७-सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले व्यक्तिगत आग्रह–पूर्वाग्रहलाई छाडेर देश र जनताको सुरक्षामा अविचलित रहन सम्पूर्ण सशस्त्र प्रहरीलाई निर्देशन दिनुभएको छ ।

शनिबार रुपन्देहीस्थित नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालयको आठौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले कमाण्डर र नेतृत्वसँग हातेमालो गर्दै साझा लक्ष्यसहित अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “व्यक्तिको प्रयासले मात्र संगठन र राष्ट्र बन्दैन, यसमा सबैको त्याग, लगाव र प्रतिवद्धताको भावना चाहिन्छ।”

सरकारले सशस्त्र प्रहरी बललाई सीमाको पहरेदारको भूमिकामा खटाएको स्मरण गराउँदै उहाँले सीमा सुरक्षा, विपद् उद्धार तथा राजमार्ग सुरक्षालगायत जिम्मेवारीमा संगठनले हासिल गरेको ख्यातीको श्रेय फिल्डमा खटिने कर्मचारीलाई जाने उल्लेख गर्नुभयो ।

आर्थिक अनुशासन र पेशागत इमान्दारितामा संगठनले गम्भीर निगरानी गरिरहेको बताउँदै आईजी अर्यालले लोभ, मोलाहिजा वा व्यक्तिगत स्वार्थमा नफसी जनताको सेवा र सुरक्षामा समर्पित रहन निर्देशन दिनुभयो ।

कार्यक्रममा वर्षभर उत्कृष्ट कार्य गर्ने कर्मचारी तथा सहयोग पुर्‍याउने संघसंस्था, महानुभाव र अवकाशप्राप्त सशस्त्र प्रहरीलाई पुरस्कार, कदरपत्र र प्रशंसापत्र प्रदान गरिएको थियो । त्यस्तै बाहिनी मातहतका सशस्त्र प्रहरीलाई आईजी एपीएफ कमेण्डेसनबाट सम्मान गरिएको थियो ।

सोही अवसरमा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप रेग्मीले सीमा सुरक्षामा सशस्त्र प्रहरीको भूमिका उल्लेखनीय रहेको बताउँदै विपद्को बेला अग्रपंक्तिमा रहँदै आएका प्रहरीलाई धन्यवाद ज्ञापन गर्नुभयो । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले आन्तरिक सुरक्षा, सीमा सुरक्षा र विपद् उद्धारमा सशस्त्र प्रहरीको योगदान प्रशंसनीय रहेको टिप्पणी गर्नुभयो ।

बाहिनीपति नायव महानिरीक्षक दिपेन्द्र कुँवरले अवैध चोरी–निकासी, पैठारी, अवैध हातहतियार र लागूपदार्थ नियन्त्रणका लागि सामुदायिक स्तरसम्म अभियान सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

समारोहमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका डिआइजी राजेन्द्र प्रसाद भट्ट, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका प्रमुख, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

उपकरण जडान द्रुतरूपमा
3 बर्ष अगाडि

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...

छुटाउनुभयो कि ?

TOP