नेपालमा फिटनेस संकट : मोटोपन र मधुमेह तीव्र, युवा पुस्ता जोखिममा

काठमाडौं, वैशाख १३ –शारीरिक फिटनेसप्रति लापरवाहीको प्रवृत्तिले नेपालमा सार्वजनिक स्वास्थ्य संकट निम्त्याएको छ। असन्तुलित जीवनशैली, फास्ट फुडको बढ्दो प्रयोग, शारीरिक निष्क्रियता र अनियमित खानपानका कारण मोटोपन, मधुमेह र हृदयघात जस्ता दीर्घरोगहरू तीव्र गतिमा फैलिरहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०७९ सालको प्रतिवेदन अनुसार देशभर १२ लाखभन्दा बढी मधुमेहका बिरामी छन्। १५ लाखभन्दा बढी उच्च रक्तचाप नियन्त्रणका औषधिमा निर्भर छन् भने काठमाडौं उपत्यकामा मात्र ३० प्रतिशतभन्दा बढी मानिस मोटोपनको जोखिममा परेका छन्।

विश्व स्वास्थ्य संगठन (WHO) को २०२४ को “Global Status Report on Physical Activity” अनुसार दक्षिण एसियामा शारीरिक निष्क्रियताका कारण मृत्युको दर हरेक वर्ष १० प्रतिशतले बढिरहेको छ।

त्रिवि शिक्षण अस्पतालका जनस्वास्थ्य विज्ञ डा. अनुप अधिकारीका अनुसार, अहिले देखिएका अधिकांश रोगहरू जीवनशैलीसँग गाँसिएका छन्। “शरीरको हेरचाह नगर्ने प्रवृत्तिले दीर्घकालीन असर पार्न थालेको छ। रोगभन्दा खतरनाक हाम्रो लापरवाही हो,” उनले भने।

नेपाल सरकारले सन् २०७८ मा ‘राष्ट्रिय पोषण रणनीति’ र ‘स्वस्थ नेपाल, समृद्ध नेपाल’ अभियान सार्वजनिक गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। काठमाडौं महानगरका स्वास्थ्य प्रमुख हरिकृष्ण श्रेष्ठका अनुसार नीति त छन्, तर बजेट, स्रोत र जनशक्ति अभावले त्यो कार्यान्वयनमा समस्या देखिएको छ।

विशेषज्ञहरूले फिटनेस कायम राख्न दैनिक कम्तीमा ३० मिनेटको शारीरिक व्यायाम, सन्तुलित आहार, कम नुन र चिनी, प्रशोधित खाद्यपदार्थको न्यूनतम सेवन, बिहानको खाना नछोड्ने, राति चाँडो खाने बानी बसाल्न सुझाव दिएका छन्। साथै, सात घण्टा गुणस्तरीय निद्रा र मानसिक सन्तुलन पनि आवश्यक रहेको उनीहरूको भनाइ छ।

स्वास्थ्य शिक्षाविद् डा. रेखा पन्तका अनुसार, नेपालमा उपभोगवादी संस्कृति र 'लाइफस्टाइल डिजिज' को जाल गहिरिँदो छ। “सजिलो खाना, बसिरहेको जीवनशैली र मोबाइल–इन्टरनेटमै सीमित दिनचर्याले हामीलाई दीर्घरोगको दलदलमा पुर्‍याइरहेको छ,” उनले भनिन्।

विशेषज्ञहरूका अनुसार यो अब केवल स्वास्थ्यको होइन, पुस्ताको भविष्यसँग जोडिएको गम्भीर सामाजिक संकट हो। समयमै चेतना नउठे आगामी दशकमा दीर्घरोग महामारीको रूपमा फैलिन सक्ने जोखिम उनीहरूले औंल्याएका छन्।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP