सभामुख अर्यालसँग अमेरिकी संसदीय टोलीको भेट, आर्थिक साझेदारी बढाउने विषयमा छलफल

सभामुख अर्यालसँग अमेरिकी संसदीय टोलीको भेट, आर्थिक साझेदारी बढाउने विषयमा छलफल

काठमाडौं । नेपाल र अमेरिकाबीचको सम्बन्धलाई अनुदान सहयोगमा मात्र सीमित नराखी लगानी तथा आर्थिक साझेदारीमा विस्तार गर्नुपर्ने विषयमा सभामुख डोलप्रसाद (डीपी) अर्याल र अमेरिकी संसदीय प्रतिनिधिमण्डलबीच छलफल भएको छ।

अमेरिकी प्रतिनिधिसभाको वेज एन्ड मिन्स समितिका सभापति जेसन स्मिथ नेतृत्वको टोलीले सभामुख अर्यालसँग शिष्टाचार भेट गरेको हो। भेटमा नेपाल-अमेरिका सम्बन्ध, आपसी सहयोग, आर्थिक साझेदारी, जलवायु परिवर्तनका कारण उत्पन्न विपद् व्यवस्थापन तथा संसदीय सहकार्यका विषयमा विचार आदानप्रदान भएको सभामुखको सचिवालयले जनाएको छ।

भेटका क्रममा सभामुख अर्यालले रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट उत्पन्न विपद् व्यवस्थापनमा अमेरिकाले देखाएको ऐक्यबद्धता र सहयोगका लागि धन्यवाद दिए। उनले जलवायुजन्य विपद्बाट प्रभावित तथा जोखिममा रहेका क्षेत्रको क्षति न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए।

नेपालले हालै तान्जानियाको आरुषामा सम्पन्न अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा प्रस्तुत गरेको जलवायुसम्बन्धी विपद् व्यवस्थापन र हिमाली क्षेत्रको उत्थानशीलता सुदृढ गर्ने आपत्कालीन प्रस्ताव दुई तिहाइभन्दा बढी मतले पारित भएको जानकारी पनि उनले गराए।

सभामुख अर्यालले नेपालमा लगानीमैत्री वातावरण बनाउन आवश्यक नीतिगत तथा कानुनी सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे। अमेरिकी प्रतिनिधिमण्डलले पनि नेपालको आर्थिक, सामाजिक तथा भौतिक विकासमा निरन्तर सहयोग गर्ने र दुई देशबीचको संसदीय सम्बन्ध थप सुदृढ बनाउने इच्छा व्यक्त गरेको छ।

भेटमा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र संसदीय सुनुवाइ समितिका सभापतिसमेत सहभागी थिए।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रधानमन्त्री बालेन शाहले गरे एनपीएलको तेस्रो संस्करण उद्घाटन
एक घण्टा अगाडि

काठमाडौं, कात्तिक ९ । नेपाली क्रिकेटको ठूलो उत्सवका रूपमा हेरिएको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस ...

छुटाउनुभयो कि ?

TOP