चर्चामा
काठमाडौं । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशन नजिकिँदै जाँदा नेतृत्व चयनबारे बहस तीव्र बनेको छ। विशेष महाधिवेशनपछि पार्टीको शक्ति सन्तुलनमा आएको परिवर्तन र नेतृत्व हस्तान्तरणको नयाँ समीकरणले यसपटकको महाधिवेशनलाई विशेष चासोको विषय बनाएको छ।
कांग्रेसभित्र अहिलेको मुख्य चर्चा सभापति पदमा केन्द्रित छ। पार्टी सभापति गगन कुमार थापाको नेतृत्वलाई चुनौती दिने बलियो उम्मेदवार हालसम्म सार्वजनिक रूपमा देखिएको छैन। यही कारण धेरै नेताहरूले सभापति पदमा प्रतिस्पर्धाको सम्भावना न्यून रहेको बताइरहेका छन्।
कांग्रेसका एकथरी नेताहरूको बुझाइमा गगन थापाले पार्टीभित्र संगठन र जनमत दुवै तहमा प्रभाव कायम राखेकाले सभापति पदमा उनको दाबेदारी बलियो बनेको छ। यद्यपि कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा उम्मेदवारी नै नपर्ने अवस्था भने नरहने नेताहरू स्वीकार गर्छन्।
सभापति पदमा प्रतिस्पर्धाको सम्भावना कमजोर देखिए पनि अन्य पदमा भने चुनावी माहोल तातिँदै गएको छ। उपसभापति, महामन्त्री र सहमहामन्त्री लगायतका पदमा आकांक्षीहरू खुल्न थालेका छन्।
हालका उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल पुनः उपसभापति पदमै दोहोरिने तयारीमा रहेको चर्चा छ। विश्वप्रकाश शर्मा पार्टीको नीति प्रतिष्ठानमार्फत सक्रिय छन् भने पुष्पा भुसाललाई पनि प्रभावशाली नेताका रूपमा हेरिएको छ।
पूर्वसहमहामन्त्री किशोरसिंह राठोरले पनि उपसभापतिमा दाबी गर्ने संकेत दिएका छन्। १४औँ महाधिवेशनमा सहमहामन्त्री निर्वाचित राठोर पछिल्लो समय नयाँ राजनीतिक धारमा सक्रिय देखिएका छन्। त्यस्तै महालक्ष्मी उपाध्याय (डिना) लाई पनि उपसभापतिको सम्भावित दाबेदारका रूपमा हेरिएको छ।
विशेष महाधिवेशनपछि बनेको नयाँ नेतृत्व संरचनामा क्रमशः अन्य नेताहरू समेटिँदै गएसँगै पार्टीभित्र शक्ति सन्तुलनको नयाँ चित्र देखिएको छ। यही कारण यसपटकको महाधिवेशनमा सभापति पदभन्दा पदाधिकारी तहका अन्य पदहरूमा बढी प्रतिस्पर्धा हुने आकलन गरिएको छ।
कांग्रेसको १५औँ महाधिवेशन नेतृत्व चयनको मात्र प्रक्रिया होइन, आगामी राजनीतिक दिशा तय गर्ने अवसरका रूपमा पनि हेरिएको छ। सभापति पदमा सहमति वा सहज जितको अवस्था बने पनि पदाधिकारी र केन्द्रीय सदस्य चयनमा हुने प्रतिस्पर्धाले महाधिवेशनको वास्तविक राजनीतिक तापक्रम निर्धारण गर्ने देखिन्छ।
मुम्बईको जुहू क्षेत्रमा बलिउड अभिनेता टाइगर श्रफलाई लक्षित गरी अज्ञात समूहले अन्धाधुन्ध गोली प्रहार ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!