काठमाडौं उपत्यकाको धार्मिक तथा सांस्कृतिक जीवनमा तलेजु भवानीको विशेष स्थान छ। शक्तिकी अधिष्ठात्री देवीका रूपमा पूजिने तलेजु भवानीसँग सम्बन्धित अनेकौँ तान्त्रिक परम्परामध्ये पवित्रारोहण अर्थात् ‘पुका छ्यागु’ अत्यन्तै महत्वपूर्ण, रहस्यमय र गोप्य अनुष्ठानका रूपमा परिचित छ। साउन कृष्ण द्वादशीको मध्यरातमा सम्पन्न हुने यो परम्पराले नेवार सभ्यता, गुठी व्यवस्था, तन्त्र साधना र सनातन धार्मिक आस्थाको अद्भुत संगम प्रस्तुत गर्दछ।
पवित्रारोहणको अर्थ देवतालाई मन्त्रद्वारा अभिमन्त्रित पवित्र धागो तथा माला अर्पण गर्नु हो। यो साधारण जनै फेर्ने प्रक्रिया नभई विशेष तान्त्रिक विधिबाट सम्पन्न गरिने धार्मिक अनुष्ठान हो। धार्मिक विश्वास अनुसार यस दिन देवतालाई नयाँ पवित्र धागो अर्पण गर्दा देवीको शक्ति अझ जागृत र प्रभावशाली बन्छ तथा सम्पूर्ण जगतको कल्याण हुने विश्वास गरिन्छ।
तान्त्रिक मान्यता अनुसार पवित्रारोहणको सुरुवात शक्ति स्वरूप देवीबाट हुन्छ। त्यसैले सर्वप्रथम तलेजु भवानी र गुह्येश्वरीमा पवित्रारोहण सम्पन्न गरिन्छ। त्यसपछि मात्र शिव स्वरूप पशुपतिनाथमा यो अनुष्ठान गरिन्छ। शक्तिबिना शिव अपूर्ण हुने धार्मिक दर्शनसँग यो परम्परा जोडिएको छ।
पवित्रारोहणको सबैभन्दा विशेष पक्ष यसको मध्यरातमा सम्पन्न हुने गोप्य ‘चालः पूजा’ हो। तन्त्र साधनामा मध्यरातलाई दिव्य शक्ति जागृत हुने समय मानिन्छ। यही समयमा तलेजु मन्दिरभित्र रहेका गुप्त देवताहरूलाई विशेष मन्त्रसहित पवित्र माला अर्पण गरिन्छ। कुन देवतालाई कति माला चढाइन्छ र कस्तो विधि अपनाइन्छ भन्ने विषय पुजारीहरू बाहेक अन्य कसैलाई सार्वजनिक गरिँदैन। यही कारण यो अनुष्ठान रहस्यले भरिएको मानिन्छ।
यो पूजा सम्पन्न गर्न गुठी संस्थानअन्तर्गत दरबन्दीमा रहेका पुजारीहरूको उपस्थिति अनिवार्य हुन्छ। आवश्यक धागो, पूजा सामग्री तथा धार्मिक विधि पूरा भएपछि मात्रै अनुष्ठान सुरु गरिन्छ। परम्परागत नियम र अनुशासनको कडाइका साथ पालना गरिने भएकाले यो पर्वको गरिमा अझ बढेको छ।
पवित्रारोहणमा प्रयोग गरिने माला पनि विशेष विधिबाट तयार गरिन्छ। कपासबाट धागो कात्ने क्रममा नै मन्त्रोच्चारण गरिन्छ। त्यसपछि नौ तन्तु मिलाएर ‘नौसुरे’ बनाइन्छ। माला उन्ने क्रममा केराको डाँठबाट निकालिएको प्राकृतिक रेसा प्रयोग गरिन्छ। यो कार्य गर्ने ‘गथु’हरूले पूर्ण पवित्रता कायम राख्नुपर्ने धार्मिक नियम छ। अशुद्ध अवस्थामा माला निर्माण गर्न निषेध गरिएको छ।
देवताका लागि अर्पण गरिने मूल माला र भक्तजनलाई वितरण गरिने ‘पुका जनै’ फरक हुन्छन्। देवतालाई चढाइएको मूल माला मानिसले धारण गर्न मिल्दैन। भक्तजनलाई भने विशेष विधिबाट तयार गरिएको पवित्र धागो प्रसादका रूपमा प्रदान गरिन्छ। यसलाई सकारात्मक ऊर्जा, मानसिक शान्ति तथा आध्यात्मिक संरक्षणको प्रतीक मानिन्छ।
धार्मिक विश्वास अनुसार यो पवित्र धागोले नकारात्मक सोच हटाउने, मनलाई स्थिर बनाउने र आध्यात्मिक बल प्रदान गर्ने शक्ति राख्छ। असाध्य रोगी तथा जीवनको अन्तिम अवस्थामा पुगेका व्यक्तिलाई समेत यो माला धारण गराउने चलन छ। मृतकको शरीरमा अर्पण गर्दा मोक्ष प्राप्त हुने विश्वाससमेत रहिआएको छ।
द्वादशीको मध्यरातमा पवित्रारोहण सम्पन्न भएपछि गथांमुगः चःहे अर्थात् गठेमङ्गलका अवसरमा अघिल्लो वर्षको माला उतार्ने, नित्य पूजा तथा तान्त्रिक त्रिबली पूजा सम्पन्न गरिन्छ। त्यसपछि नौ सुतीको नौ फेरा बनाएर तयार गरिएको पवित्र ‘पुका’ भक्तजनहरूलाई प्रसादका रूपमा वितरण गरिन्छ।
पवित्रारोहण केवल एउटा धार्मिक कर्मकाण्ड मात्र होइन। यो प्रकृति, तन्त्र, मन्त्र, शक्ति र अध्यात्मको अनुपम संगम हो। तलेजु भवानी, गुह्येश्वरी, पशुपतिनाथ, जयबागेश्वरी, भक्तपुर तलेजु तथा पाटनका शक्तिपीठहरूमा आज पनि जीवित रहेको यो परम्पराले नेपालको सांस्कृतिक सम्पदा र तान्त्रिक सभ्यताको गहिरो इतिहासलाई निरन्तर जीवित राखेको छ।
महोत्तरी । घरमा आफन्त र छिमेकीको बाक्लो आउजाउ छ। सबैले एउटै कुरा भन्छन्-‘विकासलाई केही हुँदैन, ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!