काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अन्तर्राष्ट्रिय सम्पर्क र सक्रियता बढ्दै गएको देखिएको छ ।
भारत र चीनका उच्च तहसँग सम्पर्कमा रहेका लामिछानेसँग पछिल्लो समय अमेरिकी विदेशमन्त्री मार्को रुबियोले समेत फोन संवाद गरेपछि उनको अन्तर्राष्ट्रिय भूमिकाबारे चर्चा चुलिएको छ ।
भदौ २२ गते रुबियोले लामिछानेलाई फोन गरी भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गर्दै नेपाललाई थप सहयोग गर्न अमेरिका तयार रहेको बताएका थिए ।
कूटनीतिक मामिलाका जानकारहरू भने कुनै देशका विदेशमन्त्रीले राजनीतिक दलका सभापतिसँग सम्पर्क गर्नु अस्वाभाविक नभए पनि प्राकृतिक विपत्तिका बेला समवेदना व्यक्त गर्ने क्रममा सरकारका कार्यकारी प्रमुखसँग प्रत्यक्ष सम्पर्क हुनुपर्ने मान्यता रहेको बताउँछन् ।
एक कूटनीतिक जानकारले भने, 'पार्टीका सभापतिलाई कुनै देशका विदेशमन्त्रीले फोन गर्नुहुँदैन भन्ने होइन । आवश्यकता अनुसार फोन गर्छन् । तर, यो बेलामा देशको कार्यकारी प्रमुखसँग सम्पर्क गरेर समवेदना दिनु आवश्यक हुन्छ । अमेरिकाले हाम्रो प्रधानमन्त्रीलाई महत्त्व नदिएको जस्तो देखियो ।'
लामिछानेले गत जेठमा भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमण गरेका थिए । नयाँ दिल्लीमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतीय पक्षका उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।
भारत भ्रमणपछि लामिछानेलाई चीनबाट समेत भ्रमणको निमन्त्रणा आएको थियो । चीन भ्रमणको तयारी भइरहे पनि अन्तिम समयमा भ्रमण स्थगित भएको थियो । यद्यपि, भ्रमणको तयारी अझै जारी रहेको बताइएको छ ।
भोटेकोशी बाढीका कारण चीन भ्रमण थप पर धकेलिन सक्ने आकलन गरिए पनि चिनियाँ पक्ष लामिछानेसँग सम्पर्कमै रहेको उनको निकट स्रोतको दाबी छ ।
प्रधानमन्त्री बालेन शाहले कूटनीतिक नियोगका प्रतिनिधि तथा विदेशबाट आउने उच्चस्तरीय व्यक्तिहरूसँग भेटघाटमा अपेक्षाकृत कम रुचि देखाएपछि विदेशी सम्पर्क लामिछानेतिर केन्द्रित भएको विश्लेषण पनि हुन थालेको छ ।
अन्तर्राष्ट्रिय मामिलाका जानकार रुपक सापकोटाका अनुसार बालेन प्रधानमन्त्री नियुक्त भएपछि विदेशीहरूले उनलाई महत्त्व दिन खोजे पनि प्रधानमन्त्री स्वयंले परम्परागत शैलीमा विदेश मामिला सञ्चालन गर्न अनिच्छा देखाएपछि विदेशीहरूको सम्पर्क लामिछानेतिर बढेको हो ।
'वालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएपछि विदेशीहरूले उहाँलाई महत्त्व दिन खोजेका थिए, तर उहाँले नै अनिच्छा देखाउनुभयो । उहाँले फरक ढंगले विदेश मामिला सञ्चालन गर्ने भन्नुभयो । त्यसले गर्दा बिस्तारै विदेशीहरू सभापति लामिछानेतिर सिफ्ट भएका हुन्,' सापकोटाले भने ।
लामिछाने निकट स्रोतका अनुसार नेपालस्थित ठूला शक्ति राष्ट्रका राजदूतहरूसँग उनको नियमित भेटघाट तथा फोन संवाद हुने गरेको छ । यस्ता सम्पर्कमार्फत सरकार तथा पार्टीसँग सम्बन्धित अन्तर्राष्ट्रिय विषयमा समेत उनले समन्वय गर्ने गरेको स्रोतको दाबी छ ।
प्रधानमन्त्री बालेनले हालसम्म कूटनीतिक नियोगका प्रतिनिधिहरूसँग दुई पटक समूहगत भेटघाट गरेका छन् । पछिल्लो समय उनले नेपालका लागि भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेट गरेका छन् । अमेरिकी राजदूतसँग भेट्ने भनिए पनि हालसम्म भेटवार्ता भएको छैन ।
भारत, चीन, अमेरिका लगायत विभिन्न देशबाट नेपाल भ्रमणमा आएका उच्चस्तरीय अधिकारीहरूले प्रधानमन्त्रीसँग भेट्ने इच्छा देखाए पनि बालेनले कतिपयलाई परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेतर्फ पठाएको बताइएको छ ।
अन्तर्राष्ट्रिय मामिलाका जानकार विनोज बस्न्यातले प्रधानमन्त्री बालेनको यो शैलीलाई 'वन डोर सिस्टम' का रूपमा व्याख्या गरेका छन् ।
उनका अनुसार विगतमा विदेशी प्रतिनिधिहरूले प्रधानमन्त्रीदेखि विभिन्न मन्त्री तथा अन्य राजनीतिक नेतृत्वसँग सहजै भेट्ने गरेको अभ्यासलाई बालेनले व्यवस्थित गर्न खोजेका छन् ।
बस्न्यातले अहिलेको कूटनीतिक अभ्यासलाई 'मोडर्न डिप्लोमेसी' भन्दै सूचना आदानप्रदान तथा सन्देश प्रवाहका लागि एउटै माध्यममा मात्र निर्भर हुन आवश्यक नरहेको बताए ।
'हुनसक्छ विदेशीहरूका लागि सभापति लामिछाने उपयुक्त पात्र होलान्, सजिलै उपलब्ध होलान् । त्यही भएर विदेशीहरूले लामिछानेसँग भेट्ने गरेका होलान्,' उनले भने, 'पार्टी टु पार्टी वा पार्टीको बारेमा मात्र सन्देश दिन पनि सभापतिलाई भेटेको हुनुपर्छ ।'
विदेश भ्रमण नगर्ने अडान लिँदै आएका प्रधानमन्त्री बालेन पछिल्लो समय भने अमेरिका जाने तयारीमा छन् ।
सरकारले औपचारिक घोषणा नगरे पनि असोज ६ गते संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपाली टोलीको नेतृत्व गर्दै उनी अमेरिका जाने तयारीमा रहेको बताइएको छ । उनी असोज ९ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।
यसअघि महासभामा परराष्ट्रमन्त्री शिशिर खनाल सहभागी हुने तय भए पनि भोटेकोशी बाढीलगायतका विपत्तिका कारण नेपालले जलवायु परिवर्तनबाट भोगिरहेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन प्रधानमन्त्री स्वयं सहभागी हुनु उपयुक्त हुने सुझावपछि बालेन अमेरिका जान तयार भएको बताइएको छ ।
जानकारहरूका अनुसार विदेशी कूटनीतिक सम्पर्कमा प्रधानमन्त्री र सत्तारुढ दलका सभापतिबीच देखिएको भूमिकाको अन्तरले नेपालको विदेश नीतिको सञ्चालन शैलीबारे समेत बहस निम्त्याएको छ ।
विदेशी मुलुकले कसलाई भेट्छन् भन्नेभन्दा पनि त्यस्ता भेटवार्तामा नेपालका तर्फबाट के सन्देश प्रवाह हुन्छ भन्ने विषय बढी महत्त्वपूर्ण हुने जानकारहरूको भनाइ छ ।
बस्न्यातले आवश्यकताभन्दा बढी अन्तर्राष्ट्रिय भेटघाटमा संलग्न हुनुभन्दा विषय र परिस्थितिअनुसार सम्पर्क तथा संवाद अघि बढाउनु उपयुक्त हुने धारणा राखेका छन् ।
उद्योगमन्त्री गौरीकुमारी यादवले आफ्नो पदबाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री बालेन शाहसमक्ष र ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!