काठमाडौं। तराई/मधेसका विभिन्न क्षेत्रमा तनाव कायम रहेपछि सुनसरी, सिरहा, धनुषा र सप्तरीका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु तथा पर्सामा निषेधाज्ञा अझै जारी रहेको छ ।
सुनसरीको देवानगञ्जमा साउन १० गते राति भएको घटनापछि विभिन्न जिल्लामा सुरक्षा चुनौती बढेपछि स्थानीय प्रशासनले कर्फ्यु तथा निषेधाज्ञा लागू गरेको हो । सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रशासनले आदेशहरू तत्काल नहटाउने जनाएको छ ।
सुनसरीमा साउन १२ गते रातिदेखि जिल्लाका सबै १० स्थानीय तहमा अर्को सूचना जारी नभएसम्म कर्फ्यु आदेश लागू गरिएको छ । सिरहाको गोलबजारमा साउन १४ गते दिउँसो २ बजेदेखि तथा लहानमा सोही दिन अपराह्न ४ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी छ ।
धनुषामा जनकपुर उपमहानगरपालिका, नगराइन नगरपालिका र लक्ष्मीनिया गाउँपालिकामा बुधबार दिउँसो ३ः३० बजेदेखि अर्को सूचना नभएसम्म कर्फ्यु आदेश लागू गरिएको छ ।
सप्तरीको बोदे बरसाइन नगरपालिका तथा हुलाकी राजमार्ग आसपासका क्षेत्रमा पनि कर्फ्यु जारी छ । प्रशासनले तोकेका विभिन्न सीमाभित्र बिहीबार रातिदेखि र केही क्षेत्रमा शुक्रबार बिहानदेखि अनिश्चितकालीन कर्फ्यु लागू गरेको जनाएको छ ।
यता पर्सामा निषेधाज्ञा जारी रहँदा सर्वसाधारणको आवागमन, व्यापार व्यवसाय तथा दैनिक जनजीवन प्रभावित बनेको छ । स्थानीय प्रशासनले शान्ति सुरक्षा कायम राख्न सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ ।
देवानगञ्ज घटनापछि मधेसका विभिन्न जिल्लामा उत्पन्न तनाव अझै पूर्ण रूपमा साम्य नभएकाले प्रशासनले अवस्था सामान्य नहुँदासम्म कर्फ्यु र निषेधाज्ञा कायम रहने संकेत दिएको छ ।
काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!