भोटेकोशी बाढी प्रभावितका लागि २६ अस्थायी आश्रयस्थल सञ्चालन, ३ हजार ४५४ जनाले पाए आश्रय र राहत

भोटेकोशी बाढी प्रभावितका लागि २६ अस्थायी आश्रयस्थल सञ्चालन, ३ हजार ४५४ जनाले पाए आश्रय र राहत

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि संघीय सरकार र स्थानीय तहको सहकार्यमा रसुवा र नुवाकोटमा २६ वटा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ।

सरकारी तथ्यांकअनुसार आइतबार मात्रै ३ हजार ४५४ जना बाढी प्रभावित नागरिकले ती केन्द्रमार्फत अस्थायी आश्रय तथा राहत सेवा प्राप्त गरेका छन्।

नुवाकोटमा १६ वटा आश्रयस्थल तथा शिविरमा २ हजार २७४ जना प्रभावितलाई सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ। विदुर, त्रिशुली, बेत्रावती, देविघाट, बट्टार, बेलकोटगढी तथा किस्पाङ क्षेत्रका विद्यालय, स्वास्थ्य संस्था, कवर्ड हल तथा सामुदायिक भवनहरूमा आश्रयस्थल सञ्चालन गरिएका छन्।

उद्धार गरिएका घाइतेहरूको उपचारका लागि विदुर–२ को सेफहाउस, देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालय, बेलकोटगढी–७ को महादेव माध्यमिक विद्यालय तथा विदुर–९ को शुलक्षणा माध्यमिक विद्यालयमा मेडिकल टोली परिचालन गरिएको छ।

यता रसुवामा १० वटा अस्थायी आश्रयस्थलमा आइतबार मात्रै १ हजार १८० जना विपद् प्रभावित नागरिकलाई सुरक्षित रूपमा राखिएको छ। उत्तरगया, आमाछोदिङ्मो तथा गोसाइकुण्ड गाउँपालिकाका विभिन्न बस्तीहरूमा आश्रयस्थल सञ्चालनमा रहेका छन्।

प्रभावित क्षेत्रहरूमा राहत सामग्री पुर्‍याउन भौगोलिक विकटतालाई मध्यनजर गर्दै अधिकांश स्थानमा हेलिकप्टरमार्फत राहत वितरण गरिएको प्रशासनले जनाएको छ। राहत सामग्री नपुगेको कुनै पनि क्षेत्र नरहेको दाबी गरिएको छ।

स्वास्थ्य सेवातर्फ धुन्चेस्थित रसुवा जिल्ला अस्पताल, स्याफ्रुबेसीमा वीर अस्पतालको टोली, हेलिक्षेत्रमा प्रादेशिक अस्पतालको टोली, रसुवा अस्पतालमा सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मी तथा नेपाल आर्मीको स्वास्थ्य टोली उपचार सेवामा खटिएका छन्।

बाढी प्रभावित क्षेत्रमा थप जोखिम हुन नदिन, राहत वितरणलाई प्रभावकारी बनाउन तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय प्रशासन, सुरक्षा निकाय र स्वास्थ्यकर्मीहरू उच्च सतर्कताका साथ परिचालित रहेको जनाइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

मुस्ताङ भूकम्पपछि क्षतिग्रस्त घरबाट सामान सुरक्षित स्थानमा सारियो
3 घण्टा अगाडि

काठमाडौ ।उपल्लो मुस्ताङ केन्द्रविन्दु भएर गएको भूकम्पबाट क्षतिग्रस्त घरहरूबाट सामान सुरक्षित स्थानमा ...

छुटाउनुभयो कि ?

TOP