आज उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, नेपालकै पहिलो सडक सुरुङ सञ्चालनमा आउँदै

आज उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, नेपालकै पहिलो सडक सुरुङ सञ्चालनमा आउँदै

काठमाडौं। नेपालकै पहिलो सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आज प्रधानमन्त्रीको उपस्थितिमा औपचारिक उद्घाटन हुँदै सञ्चालनमा आउँदै छ।

काठमाडौं र धादिङलाई जोड्ने २.६८ किलोमिटर लामो मुख्य सुरुङ तथा २.५५७ किलोमिटरको आपतकालीन सुरुङसहितको यो आयोजना करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो। उद्घाटनसँगै सुरुङमार्गलाई चरणबद्ध रूपमा सवारी सञ्चालनका लागि खुला गरिने सडक विभागले जनाएको छ।

सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगा नाकामा वर्षौंदेखि देखिँदै आएको ट्राफिक जाम न्यूनीकरण हुने, राजधानी प्रवेश र बाहिरिने सवारीको यात्रा समय छोटिने तथा आवागमन थप सुरक्षित र व्यवस्थित हुने अपेक्षा गरिएको छ।

सुरुङमार्गसँगै निर्माण गरिएको बलम्बु फ्लाइओभर पनि सञ्चालनका लागि तयार रहेको छ। सुरुङ र फ्लाइओभर क्षेत्रमा जडान गरिएका सडक बत्तीले पश्चिमी नाका रातको समयमा झलमल्ल देखिन थालेको छ।

सरकारले सुरुङ प्रयोगका लागि विभिन्न सवारीसाधनको शुल्क निर्धारण गरिसकेको छ। पैदलयात्री, दुईपांग्रे सवारीसाधन तथा पेट्रोलियम पदार्थ बोकेका सवारीलाई भने सुरुङमार्ग प्रयोग गर्न नदिने व्यवस्था गरिएको छ।

जापान सरकारको ऋण सहायता र नेपाल सरकारको लगानीमा निर्माण गरिएको यो आयोजना कोभिड–१९ महामारी, जग्गा अधिग्रहण तथा मुआब्जा विवादका कारण निर्धारित समयभन्दा ढिलो सम्पन्न भएको हो। आयोजना निर्माणको जिम्मा जापानको हाज्मा आन्दो कर्पोरेशनले लिएको थियो।

सुरुङमार्ग सञ्चालनलाई नेपालको सडक पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP